पोखरा, ३ माघ । शुक्रबारदेखि पोखरामा पहिलो पटक बृहत शैक्षिक मेला सुरु भएको छ । पहिलो दिन ७ हजार भन्दा बढिले मेलाको अवलोकन गरेको आयोजक नेपाल शैक्षिक परामर्श संघ ईक्यान कास्कीले जानकारी दिएको छ । विग एफएम १०१.२ मेगाहर्जको प्रस्तुतीमा आयोजित मेलालाई मनोक्रान्ति दर्शनका परिकल्पनाकार योगी डा। विकाशानन्दले उद्घाटन गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै विकाशानन्दले शिक्षामा सृजनशिलता आवश्यक भएको बताए । उनले कागजी प्रमाणपत्रले मात्र जिवन सार्थक नहुने भन्दै आफ्नो ईच्छाअनुसारको शिक्षामा जोड दिन सके मात्र सृजनशिलताको विकास हुने बताए ।
‘ शिक्षा गलत हुँदा स्वरोजगार हुने व्यक्ति बेरोजगार भएर बस्नुपर्ने हुन्छ ।’ उनले भने–‘त्यसैले आफ्नो रोजाई अनुसारको शिक्षा आर्जन सबैभन्दा उत्तम हुन्छ ।’
ईक्यानका केन्द्रिय अध्यक्ष राजेन्द्र बरालले विद्यार्थीलाई स्वदेशमा गरीखाने शिक्षा प्रदान गर्ने हो भने राज्यले शिक्षा नीति नै परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए । “यहाँको शिक्षा सैद्धान्तिक र घोकन्ते मात्रै छ ।” उनले भने “व्यवहारिक र वैज्ञानिक शिक्षा प्रणाली अवलम्बन गर्दै राज्यले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा उभिन सक्नुपर्छ ।’ विदेशमा अध्ययन गरेर नेपाल फर्कने चाहने दक्ष जनशक्तिलाई समेत राज्यले उनीहरुको स्तर अनुसार सम्मान दिन नसकेको उनले बताए ।
पश्चिमाञ्चल क्षेत्रमा विद्यार्थीहरुमा विदेश अध्ययनको आकर्षण बढि भएकै कारणले पोखरामा वृहत शैक्षिक मेलाको आयोजना गर्नुपरेको ईक्यानका केन्द्रिय उपाध्यक्ष विष्णुहरी पाण्डेले बताए । काठमाण्डौमा भने यस्तै प्रकृतिको महोत्सव सात पटक भैसकेको छ ।
आयोजक संस्था ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले पोखरालाई शैक्षिक हब बनाउन मेलाले सहयोगी भुमिका खेल्ने दाबी गरे । त्यस्तै मेलाका संयोजक ईविन्द्रराज तिवारीले यहाँका विद्यार्थीहरु उच्च शिक्षाका लागि बाहिर जाने ट्रेण्ड रहेकाले पनि आवश्यकता बोध गरेर मेला आयोजना भएको बताए । त्यस्तै टाईटल स्पोन्सर कंगारु एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक महेशबाबु तिमल्सिना, ईक्यान कास्कीका वरिष्ठ उपाध्यक्ष डिबि गुरुङ, सचिव मिलन तिवारी लगाएतले बोलेका थिए ।
मेलामा बिभिन्न शैक्षिक परामर्श केन्द्रका ६० वटा स्टल र ५ वटा पेभेलियन रहेका छन । मेलामा पोखरामा रहेका सबै शैक्षिक परामर्श केन्द्रको साथै काठमाण्डौमा रहेका एजुकेशनल कन्सलटेन्सीहरुको स्टल राखिएका छन् । भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएत देशका कलेज तथा युनिभर्सिटीबाट प्रतिनीधिहरुले मेलामा सहभागिता जनाएका छन् ।
मेलामा निशुल्क प्रबेशको साथै निशुल्क परामर्शको ब्यबस्था मिलाईएको छ । मेलामा उच्च शिक्षाको लागि बिदेश पढ्न जान चाहने बिद्यार्थीले छुट्टाछुट्टै स्टलबाट परामर्श लिन सक्छन् । विद्यार्थीलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणालीको बारेमा प्रर्याप्त सुचना दिनुका साथै गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीको पहुँच बढाउन मेलाको आयोजना गरेको आयोजकको दाबी छ ।
३ दिने मेला सम्पन्न गर्न करिब १५ लाख रुपैँया खर्च लाग्ने र २५ हजार दर्शकहरुको सहभागिता रहने अनुमान गरिएको छ । मेलाको टाईटल स्पोन्सरको रुपमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ भने सब टाईटल स्पोन्सरको रुपमा किङ्गस् ईन्स्टिच्यूट रहेको छ । मेलाको सहयोगीको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट रहेको छ भने बैकिङ पार्टनरको रुपमा प्राईम बैंक रहेको छ ।
मेलालाई एजुकेशन पार्कले मुख्य प्रायोजन गरेको छ भने ट्रिनीटी एजुकेशन फाउन्डेशन, स्मार्ट ओपन एकेडेमी, डेल्टा एडुकेयर नेपाल, बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशन र यूरो–एशिया एजुकेशनल कन्सल्टेन्सी लगाएतका संस्थाहरुले प्रायोजन गरेका छन् ।