नेपाली सांस्कृतिक टोलीद्वारा बंगलादेशी सभामुखसँग भेट

ढाका, २१ वैशाख/बंगलादेशको सांस्कृतिक भ्रमणमा गएको नेपाली टोलीले बिहीबार बंगलादेशका सभामुख डा. सिरिन सर्मिम चौधरीलाई भेट गरेको छ । त्यस अवसरमा नेपाली सांस्कृतिक टोलीका नेता अलि मियाँ लोक वाङमय प्रतिष्ठान, पोखराका सचिव पदमराज ढकालले नेपाली लोक तथा राष्ट्रिय गीतको सिडी र नवलालित्य साहित्यिक पत्रिका उपहारस्वरुप प्रदान गरे ।

सोक्रममा सभामुख डा. चौधरीले आफू सभामुख भएलगत्तै पहिलो पटक नेपाली सांस्कृतिक टोलीसँग भेट गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले साहित्य र संगीतको माध्यमबाट नेपाल र बंगलादेशको सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाली सांस्कृतिक टोलीको भ्रमण महत्वपूर्ण रहेको बताए ।

ढाकास्थित संसद भवनमा भएको सो भेटमा बंगलादेशका सभासद तथा दैवीप्रकोप उद्दार समितिका अध्यक्ष एविएम अनवारुल हकले नेपाली सांस्कृतिक टोलीलाई स्वागत गरेका थिए । यसैगरी नेपाली सांस्कृतिक टोलीको सम्मानमा बंगलादेशस्थित नेपाली राजदूतावासले बिहीबार रात्रिभोगको आयोजना ग¥यो ।

त्यस अवसरमा बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठले नेपाली संस्कृति नेपाली पहिचान भएको र सांस्कृतिक आदानप्रदान कार्यक्रमबाट दुई राष्ट्रबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
नेपाली सांस्कृतिक टोलीमा अलि मियाँ लोक वाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, प्राज्ञ हरिदेवी कोईराला, लोकगायक पदमराज ढकाल, संगीतकार धनबहादुर गायक, कलाकारहरु प्रीती गुरुङ र सन्तोष तामाङ रहेका छन् ।

यसैगरी टोलीमा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, प्राध्यापक दुर्गा दाहाल, साहित्यकार राजेन्द्र गुरागाई, कृष्ण भण्डारी मुमुक्षु, रीता पहारी, लोकचन्द्र खनाल, धर्मराज पौडेल, जैनव खातुन रहेका छन् ।

कमेन्टहरु
Loading...