सोमबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले नेपाली धर्तीमा जन्म लिनुभएका महान् पुरुष गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको उल्लेख गर्नुभएको छ ।
‘विश्वमाझ देखिएका विभिन्न युद्ध, हिंसा, घृणा, दमनका रूपहरूको निरूपणमा बुद्धको सन्देश अति सान्दर्भिक रहेको छ । बुद्धबाट व्यक्त प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ ।’ उहाँले भन्नुभएको छ ।
बुद्धले मानव जगतलाई एक सुन्दर, अनुशासित, समानता, अहिंसा, शान्ति र सम्मानित समाजमा अग्रसर रहन मार्गदर्शन गर्नुभएको उल्लेख गर्दै उहाँले उपदेशलाई आत्मसात् गर्न सकिए विश्वमा भातृत्व, बन्धुत्व, सद्भाव र दीगो शान्तिको स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ – ‘उभौली जस्ता चाडपर्वहरूले मौलिक संस्कृतिको जगेर्ना गर्दै सबैलाई सामाजिक सद्भाव र मेलमिलापको सन्देश दिएको छ । नेपालीहरूको एकतामा उर्जा थप्न र सामाजिक बन्धुत्वको अभिवृद्धि गर्न यस्ता पर्वहरू अपरिहार्य छ । बुद्धजयन्ती र उभौलीको यो दिनमा भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर राष्ट्रिय एकता तथा साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान दिन सकियोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’