पोखरा । कास्कीमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायका १०५ जना व्यक्तिलाई राहत वितरण गरिएको छ । निल हिरा समाजको नेतृत्व, सेभ द चिल्ड्रेन युएस/ग्लोबल फण्ड (save the children/global fund) को सहयोगमा नौलो बिहानी पोखराद्वारा १०५ जना क्वेर समुदायका व्यक्तिलाई शुक्रबार राहत वितरण गरिएको हो ।
राहत स्वरुप उनीहरुलाई चामल, दाल, नुन, तेल, केराउ, प्याज, साबुन, भट्ट, आलु र अण्डा वितरण गरिएको छ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिलाई घरबाट तिरस्कार, रोजगारीको सिर्जना नहुनु वा रोजगारी नदिइनुजस्ता समस्या भएकाले उनीहरुको आवश्यकतालाई मध्येनजर गर्दै राहत प्रदान गरिएको नौलो बिहानी पोखराकी अध्यक्ष बिन्दीया गौतमले बताइन् । साथै क्वेर समुदायको हकहित, मानवअधिकार, मनोपरामर्श, सचेतना जस्ता कुराहरुलाई आत्मसाथ गर्दै उनीहरुलाई सहयोगलागि नौलो बिहानी सधै तयार रहेको अध्यक्ष गौतमले बताइन् ।
नौलो बिहानीकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले क्वेर समुदाय भित्र रहेका तर आर्थिक अवस्था नाजुक भएका व्यक्तिलाई थोरै भएपनि सहज होस् भनि राहत वितरण गरिएको बताइन् । विभिन्न सरकारी निकाय, विदेशी संघसंस्था, प्रोजेक्टको सहयोगमा उनीहरुलाई समय–समयमा राहत वितरण गरिने उनले बताइन् ।