पोखरा । पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले तिजको अवसरमा आयोजित अन्तर माविस्तरिय छात्रा बास्केटबलको उपाधि न्यू ग्यालेक्सीले प्राप्त गर्न सफल भएको छ ।
उपाधि जितेसँगै न्यू ग्यालेक्सीले नगद रु ३० हजार प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा बालकल्याण माविले दोस्रो स्थान हासिल गरेको छ । यो सँगै बालकल्याणले नगद रु १५ हजार प्राप्त गरेको छ ।
चार दिनसम्म सञ्चालन हुने तिज महोत्सव अन्तरगत महिलाहरुको अन्य विधाका खेलकुद डोरी तान्ने, घैटो फुटाउने, म्युजिकल चियर बाँकी नै रहेको र महोत्सवको मुख्य आकर्षक खुला तिज गित प्रतियोगिता असोज १ गतेसम्म हुने सुर्यचन्द्र विकास समाजका महासचिव हेमराज भण्डारीले जानकारी दिए । उनका अनुसार तिज गीत प्रतियोगितामा कास्की जिल्ला भित्रका १८ टिम बिच प्रतिस्पर्धा हुनेछ । जसमा प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने टिमले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट भेषभुषा र उत्कृष्ट नृत्य विधामा पनि पुरस्कार राखिएको महासचिव भण्डारीले बताए ।
तीज संस्कृतिको जगेर्ना गर्दै महिला दिदिबहिनीहरुको क्षमता अभिवृद्धि गराउनुका साथै खेल क्षेत्रमा प्रतिभा जन्माउन खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको सुर्य चन्द्र विकास समाजकी अध्यक्ष कमला गौतमले जानकारी दिइन् । उनका अनुसार कार्यक्रममा स्रस्टाहरुलाई सम्मान समेत गरिनेछ ।