युवा केन्द्रीत नीति, नियम तथा कार्यक्रम अभावका कारण युवाहरु विदेश पलायन

पोखरा । स्थानीय तहमा युवा सहभागिता र उद्यमशिलता अन्तरक्रिया कार्यक्रम युवा र सरोकारवाला निकायका विच पोखरामा सम्पन्न भएको छ । एकाउण्टाविलिटी ल्याव नेपालको आयोजनामा भएको कार्यक्रममा युवा, सरकारी कर्मचारी, स्थानीय जनप्रतिनिधि, युवा सम्वद्ध संघ संगठन, व्यवसायी, पत्रकार तथा विद्यार्थी बीच अन्तरक्रिया भएको हो ।

सुशासन प्रवर्धन, सदाचारिता र जवाफदेहिता अभिवृद्धि तथा सहभागितामुलक लोकतन्त्रको लागि युवा सहभागिता बढाउन एकाउण्टाविलिटी ल्याव नेपालले विभिन्न स्थानमा कार्यक्रम गर्दै आइरहेको संस्था हो ।

अन्तरक्रियामा वक्ताहरुले युवालाई राज्यले नै पछि पारेको बताएका छन् । युवा केन्द्रीत नीति, नियम तथा कार्यक्रम अभावका कारण युवाहरु विदेश पलायन हुनुपरेको बाध्यता रहेको वक्ताहरुले जनाए । वक्ताहरुले युवाले भोगिरहेका समस्याको बारेमा बताउँदै सम्वन्धित निकायलाई सुझाव समेत दिएका थिए । अन्तरक्रियामा सरोकारवालाहरुले युवाहरुमा सकारात्मक सोँच र भिजनका साथ अगाडी बढ्न सुझाव दिँदै युवालाई पनि अरु सरह समान व्यवहार गरिएको बताए । देशमै केही गर्छु भन्ने युवाहरुलाई काम गर्ने वातावरण र विदेश पलायन हुनबाट रोक्न देशको माथिल्लो निकायबाटै नीति नियमलाई परिमार्जन गर्नुपर्ने सरोकारवालाहरुले बताए ।

अन्तरक्रियमा कार्यक्रम संयोजक जयन्ती शर्माले स्थानीय तहमा युवा सहभागिता र उद्यमशिलतामा युवाहरुका चाहना, आवश्यकता, समस्यालगाएतका कुरालाई प्रस्तुतीकरण मार्फत राखेकी थिइन् ।

अन्तरक्रियामा पोखरा महानगर आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया, पोखरा महानगर सामाजिक महाशाखाकी विष्णुमाया पौडेल, पोखरा महानगर श्रम तथा रोजगार शाखा प्रमुख विष्णुप्रसाद दाहाल, कोशिष नेपालका मनोविद् विजय राई, राइट फर चिल्ड्रेनकी सरिता अधिकारी, युवा उद्यमी मञ्च पोखराका अध्यक्ष निरन केसी, गण्डकी एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रमुख ढाकाराम भण्डारी, व्यवसाय प्रवर्धन केन्द्रकी तिर्सना बास्ताकोटी, पर्यटन तथा उद्योग कार्यालय पोखराका शेषकान्त पौडेल, पोखरा ९का वडाध्यक्ष दिपेन्द्र मर्सानी, ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचाय लगाएतले आफ्नो धारणा र युवाहरुबाट उठेका प्रश्नको जवाफ दिएका थिए ।

अन्तरक्रियामा सोनी खनालले एकाउण्टाविलिटी ल्याव नेपालको बारेमा बताएकी थिइन् । कार्यक्रमको सञ्चालन एकाउण्टाविलिटी ल्याव नेपालका गण्डकी संयोजक पुष्पराज कोइरालाले गरेका थिए भने सहभागिलाई धन्यवाद ज्ञापन एकाउण्टाविलिटी ल्याव नेपालका संयोजक नारायण अधिकारीले गरेका थिए ।

कमेन्टहरु
Loading...