भिजन मण्टेश्वरी टिचर्स ट्रेनिङका प्रशिक्षार्थीहरु दिक्षित

पोखरा । पोखरा महानगरपालिका वडा नं. २७, तालचोकमा रहेको भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरबाट दिक्षित भएका ४० जना प्रशिक्षकहरुलाई एक समारोहका बीच प्रमाण पत्र वितरण गरिएको छ । ट्रेनिङ सेन्टरको छैटौं वार्षिकोत्सव तथा दिक्षान्त समारोहमा उक्त प्रशिक्षार्थीहरुलाई दिक्षित गरिएको हो । भिजन मण्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरले विगत ६ वर्षदेखि पोखरा २७ मा रहेर मन्टेश्वरी विधिलगायतका माध्यमबाट बालमैत्री शिक्षण पद्दतिमा प्रयोग हुने विधिहरुमा तालिम प्रदान गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडल, लेखनाथ उद्योग वाणिज्य संघका उप महासचिव जानुका पराजुली, उद्ममी मेनुका श्रेष्ठ, लेकसिटी मन्टेश्वरीका प्रिन्सिपल प्रभा पौडेल, लिटल स्टार मन्टेश्वरीका प्रिन्सिपल प्रविना विश्वकर्मालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उपस्थित वक्ताहरुले भिजन मन्टेश्वरीले स(साना बालबालिकाहरुको सुन्दर भविष्य निर्माणका लागि शिक्षण गर्ने शिक्षकहरुका लागि महत्वपूर्ण तालिम प्रदान गरेको र आगामी दिनमा दिक्षित हुने व्यक्तिहरुले भिजनको लक्ष्य तथा उद्देश्य अनुसार कार्य गर्ने अपेक्षा राखेका थिए ।

उनीहरुले शिक्षण पेशाले जीविकोपार्जनसँगै आफ्नो काम प्रति गर्व हुनुका साथै आत्मसन्तुष्टि हुने कुरा राख्दै बालबालिकाको पहिलो शिक्षक हुनु पाउनु र बच्चाहरुको सुन्दर भविष्य निर्माणमा लाग्न पाउनु ठूलो कुरा रहेको बताए । वक्ताहरुले यस्तो पवित्र र सुन्दर कार्यमा लाग्न चाहाने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई एवम् सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक दुर्गा सिग्देलले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन मन्टेश्वरीका प्रशिक्षार्थी सुष्मा केसीले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...