पोखरा । पोखरा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा तरकारी र अलैंची बालीको आर्थिक बर्ष २०७९/८० मा नवप्रबर्तित प्रबिधि प्रयोग भएका कार्यक्रम र योजनाहरूको अनुगमन भएको छ ।
परियोजना मार्फत आर्थिक अनुदानमा निर्माण सम्पन्न पोखरा महानगरपालिका अन्तर्गत शान्ति बन बाटिकास्थित कृषि बजारमा कृषि उपजको बजारिकरण सहयोग कार्यक्रम, बुढीबजारमा रहेको सर्बगुण फूड्स एन्ड किचेन प्रालिमा निर्माण सम्पन्न कोल्ड रूम, पोखरा १६ को माथिल्लो दिपमा रहेको हरिलो एग्रो इन्डष्ट्री प्रालिको प्याकेजिङ, लेबलिङ तथा पोस्ट हार्भेष्ट क्षती न्यूनीकरण कार्यक्रम अन्तर्गत सोलार ड्रायर निर्माणको अनुगमन गरिएको थियो ।
त्यसैगरी पोखरा २५ हेम्जास्थित बेलचौतारा कृषक समुहको सौर्य उर्जामा आधारित सिचाइ प्रणाली जडान, माछापुच्छ्रे गाउपालिकाको भेडाबारी स्थित मर्दी एग्रो फर्म एण्ड रिसर्च सेन्टरको प्रसोधन केन्द्र र बराह माबि ब्यबसायिक उत्पादन कार्यक्रम तथा सोही गाउँपालिकाको माछापुच्छ्रे एग्रो सेन्टर प्रालिको सुधारिएको अलैंची भट्टी निर्माण परियोजनाको अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ बिकास र समृद्धिका दृष्टिकोणबाट अब्बल बनाउदै उत्कृष्ट सुसासनयुक्त जिल्लाको रूपमा स्थापित गर्न सबै लागि पर्नूपर्ने बताए ।
सो अबसरमा प्रमुख पौडेलले सेवाग्राही र उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्नुको बिकल्प नभएको भन्दै गुनासा नआउने कामको योजना बनाउनेतर्फ लाग्ने सरकारी निकायहरूलाई आग्रह गरे ।
अनुगमनमा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे, जिल्ला समन्वय अधिकारी नवराज बराल, घरेलु तथा पर्यटन उद्द्योग कार्यालय कास्कीका कार्यालय प्रमुख शेषकान्त पौडेल, पोखरा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीका कार्यालय प्रमुख रोशन अधिकारी स्थानि, पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरिया लगाएतका स्थानीय उपभोक्ता र संचार्कर्मीहरू सहभागी थिए ।