विद्यार्थीलाई ४५% छुट कार्यान्वयन गर्न प्रशासनलाई अनेरास्ववियुको एकहप्ते अल्टिमेटम

पोखरा । अनेरास्ववियु कास्की जिल्ला कमिटीले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% छुट दिने व्यबस्था कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारीलाई एकहप्ताको अल्टिमेटम दिएको छ ।

कास्की जिल्लाभित्र संचालन हुने सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत नदिएको गुनासो बढेपछि पछिल्लो एकहप्ता ट्राफिक कार्यालयको सहभागीतामा अनेरास्ववियुले अनुगमन गरेको थियो । सार्वजनिक यातायात सम्बद्व पक्षले छुट दिन आनकानी गरेको भन्दै जिल्ला संयोजक सन्तोष पोखरेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र सिडिओलाई बुझाएको हो ।

अनुमगन हुँदा पैसा फिर्ता गर्ने तर त्यसलाई निरन्तरता दिन व्यबसायीहरुले आनकानी गरेकाले एकहप्ता भित्र सबै सार्वजनिक यातायातमा छुट सहितको भाडादर टाँस गरी कार्यन्वन गराउन ध्यानाकर्षण पत्रमा भनिएको छ। ४५% सहुलियत विद्यार्थीको अधिकार भएकाले आफ्नो अधिकार प्राप्तिका लागि जस्तो सुकै आन्दोलन गर्न अनेरास्ववियु तयार रहेको अनेरास्ववियु गण्डकी सह संयोजक सुशन घिमिरेले बताए ।

‘४५ प्रतिशत छुटको अधिकार हाम्रो अग्रजले लडेर ल्याएको अधिकार हो र यसको रक्षा गर्ने दायित्व हाम्रो हो, २४ सै घण्टा ३६५ दिन नै विद्यार्थीलाई कार्डका आधारमा सहुलियत दिनुपर्छ त्यसको कार्यन्यवयन गर्न प्रशासन अग्रसर बन्नुपर्छ अन्यथा आन्दोलनको विकल्प छैन’, सह संयोजक घिमिरेले भने ।

कास्की सहित प्रदेशका अन्य जिल्लाहरुमा पनि सहुलियत दिए नदिएको अनुगमन भईरहेको उनले बताए ।

कमेन्टहरु
Loading...