पोखरा । महिला बालबालिका तथा पिछडीएकाहरुको हितमा अभियान चलाउदै आएको मेची महाकाली बुहारी संयुक्त आवाजले पोखरामा आयोजना गरेको एक कार्यक्रममा समाजमा महिलाहरुले अझैपनि हिंसा भोग्नुपरेको बताइएको छ । संविधानमा महिलालाई ३३ प्रतिशत अधिकारको व्यवस्था गरिएपनि महिलाहरु अधिकारको क्षेत्रसम्म पुग्न निक्कै संर्घषको सामना गर्नुपर्ने परिस्थिति रहेको उक्त कार्यक्रममा बताइएको छ ।
कार्यक्रममा बोल्दै मेची महाकाली बुहारी संयुक्त अभियानकी योजनाकार तथा केन्द्रिय अध्यक्ष यमन शर्मा सुब्बाले महिलाहरुलाई हिंसाविरुद्ध मैनबत्ती मात्र नभएर आगो भएर निस्किन आग्रह गरेकी छिन । तराईका बिकट गाउँहरुमा पुगेर अन्यायमा परेका महिला तथा बालबालिकाको उद्धार गरेको स्मरण गर्दै उनले समाजका कुना कुनामा पिडित महिला दिदीबहिनी तथा बालिकाहरु उद्धार र सहयोगको प्रतिक्षामा रहेको बताईन् ।
शक्तिले मात्र नभै हिम्मतले सगरमाथा चढ्न सकिने बताउदै महिलाहरुलाई आत्मविश्वास जगाउने खालका अभियानहरु देशभर संचालन गर्नुपर्नेमा उनले जोड दिइन् ।
पुर्व जलस्रोत मन्त्री नारायण शर्मा पौडेलले महिलाहरु धर्ति बराबर भएको बताउदै महिला वर्गप्रति आफ्ने ठुलो सम्मान रहेका बताएका छन ्। संस्थाकी केन्द्रिय अध्यक्ष यमन शर्मा सुब्बा अमेरिकामा रहेर पनि नेपालमा रहेका पिडित महिलाहरुको पक्षमा काम गर्नु सह्रानिय रहेको भन्दै धन्यवाद व्यक्त गरेका छन । शर्माले उक्त संस्थाले महिलाहरु मात्र नभएर पिडामा रहेका हरेक वर्ग र समुदायको हितमा काम गर्न सुझाव सोत दिएका छन् ।
मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय उपाध्यक्ष चन्द्रा काफ्लेले बुहारी महिलाहरुलाई नेतृत्वमा ल्याउन अभियानको सुरुवात गरेको बताएकी छिन् ।
घर तथा सडकमा अफ्ट्यारोमा परेका महिला तथा बालबालिकाहरुलाई आफुहरुको संस्थाले सहयोग गर्ने गरेको काफ्लेको भनाई छ ।
हरेक महिला कुनै न कुनै समय हिंसामा पर्ने गरेको बताउदै अभियानकी कास्की संयोजक मनु शर्माले सानो सानो अधिकार प्राप्तिका लागि पनि महिलाहरुले कठिन संघर्ष गर्नुपर्ने अवस्थालाई उजागर गरेकी छिन् । नितान्त सेवाभावले संचालित उक्त संस्थाले हाल नेपालका ५६ जिल्लामा विस्तार गरिसकेको जानकारी दिदै उनले अव छिट्टै देशभरी विस्तार गरी विदेशमा समेत संगठन विस्तारको तयारी रहेको बताइन् ।
मेची महाकाली बुहारी संयुक्त आवाजकी कास्की सचिव सरस्वती पुरीले संस्थामा कुनैपनि राजनितिक र भेदभावयुक्त रंग मिसिन नदिई निस्पक्ष रुपमा सेवा गर्न आफुहरु तत्पर रहेको बताएकी छिन् ।
पुर्वमन्त्री, स्वास्थकर्मी, शिक्षक, अधिवक्ता,पत्रकार लगायत उपस्थित कार्यक्रममा कास्की तथा तनहुँ जिल्लाका बुहारी महिला र स्वयं पिडामा परेका महिलाहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा अमेरिकामा बसोबास गर्दै आएकी अभियानकी केन्द्रिय अध्यक्ष यमन शर्मा सुब्बा, र उपाध्यक्ष चन्द्रा काफ्ले,पुर्व जलस्रोत मन्त्री नारायण शर्मा पौडेल, उनकी धर्मपत्नी गीता शर्मालाई पोखरामा स्वागत तथा सम्मान गरिएको थियो ।