बागलुङ । गलकोट १० पाण्डवखानीमा वैशाखे पूर्णिमा मेला भएको छ । घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले २५६७ औं बुद्ध जयन्ती तथा ३७ औं वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले घाँटु नाच र घुम्टे लेकको संरक्षणमा पहल गर्ने बताए । मध्यपहाडी लोकमार्गको विकल्पको रुपमा पाण्डवखानीबाट ट्रयाक खोल्न अध्ययन गरिने पौडेलले बताए । प्रदेश सांसद जितबहादुर शेरचनले मेलालाई आर्थिक जीवनमा जोड्नुपर्नेमा जोड दिएका थिए । विकासका गतिविधिलाई सफल पार्ने तथा जनताका आवश्यकता पूरा गर्ने शेरचनले प्रतिवद्धता गरे ।
मेलाले संस्कृति तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग गर्ने भएकाले यसलाई निरन्तरता दिनुपर्ने पूर्व सांसद बलावती शर्माले बताइन् । मेलालाई थप व्यवस्थित बनाउनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य नरबहादुर पुन, गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरे, वडा नम्बर १० का वडाध्यक्ष भक्तबहादुर काउचाले पनि बोलेका थिए । कार्यक्रममा भएको खुला युवा वडा स्तरीय भलिबल प्रतियोगितामा पुरुष भलिबल प्रतियोगितमा आयोजक प्रथम र गलकोट नगरपालिका वडा नम्वर ५ हरिचौर दोस्रो भए । उनीहरुले क्रमश १ लाख र ५० हजारका साथमा मेडल र प्रमाण पाए ।
प्रौढ पुरुष भलिबल प्रतियोगितामा वडा नम्बर ७ मल्म प्रथम र संगम युवा क्लब हरिचौर दोस्रो बने । प्रथम पुरस्कार ५० हजार र दोस्रो पुरस्कार ३० हजारका साथल मेडल र प्रमाणपत्र प्रदान गरियो ।
महिला भलिबल प्रतियोगितामा प्रथम भई म्याग्दीले ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त पायो भने दोस्रो स्थान प्राप्त गरेको बडिगाड गाउँपालिका ८ रनसिंहकिटेनीले ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त पायो ।
सिलेबल ब्याडमिन्टन प्रतियोगितामा आयोजक समूह प्रथम र वडा नम्बर ३ हटिया दोस्रो भए । उनीहरुले क्रमशः २० हजार र १२ हजारका साथमा प्रमाणपत्र पाए । मञ्चका अध्यक्ष प्रकाश पुनको अध्यक्षतामा भएको कार्यक्रममा विष्णु काउचाले पनि बोलेका थिए ।