पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । गण्डकी प्रदेश सभाको आजको कार्यसूचीअनुसार आज दिउँसो ३ः०० बजे भने पनि केही समयमा नै बैठक शुरु भएपछि विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री अधिकारीले आज प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
गत पुष २५ गते नै मुख्यमन्त्री अधिकारीलाई माओवादी केन्द्रले साथ छोडेपछि गण्डकी सरकार अल्पमतमा परेको थियो । प्रदेश सरकार अल्पमतमा परेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।
६० सदस्य प्रदेश सभामा नेपाली काँग्रेसको २७, नेकपा (एमाले)को २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र १ (पछि एकीकृत समाजवादीमा प्रवेश) जना छन् । तसर्थ बहुमतका लागि कम्तिमा ३१ सिट आवश्यक पर्दछ ।