पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं २ ताङतिङमा नौंचु पैंगी लामा महायन बौद्व गुम्बाको पुननिर्माण गरी उद्घाटन गरिएको छ ।
उद्घाटन अवसर सँगै तीन दिनसम्म विविध कार्यक्रम पनि गरिएको सचिव प्रेम प्रसाद गुरुङले बताए । गुम्बाको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरेका थिए ।
सोही अवसरमा हिमपति पाठ वाचन र भगवान बुद्वको महान वाणी प्रज्ञापारमिता (वुम) वाचनसँगै गुम्बाको प्राणप्रतिष्ठा गरिएको थियो । गुरु स्याम्पा रिम्पोच्छेले अभिषेक प्रदान गरेका थिए ।
तीन दिनको पूजा कार्यक्रम बौद्व अर्घौ सदन रामघाटका प्रमुख लामा ख्याम्पो शिर लामाको नेतृत्वमा भएको हो ।
गुम्बाको कृषि, उर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले निरीक्षण गरेका थिए ।
तीन दिनसम्म आयोजित कार्यक्रममा चन्दादाता, विभिन्न सघसंस्था, परिवार समूह, चेलिबेटीहरुले आर्थिक सहयोग गरेको कोषाध्यक्ष क्याप्टेन मन बहादुर गुरुङले जानकारी दिए।
कार्यक्रममा २० लाख ९२ हजार तीन सय ५५ रुपैया संकलन भएको थियो । कार्यक्रममा कुल नौ लाख ६ हजार ३ सय ९४ रुपैया खर्च भई ११ लाख ८५ हजार नौ सय ६१ रुपैया बचत भएको छ । कार्यक्रममा नौंचु पैंगी लामा चेलिवेटी पण्डितथर परिवारले भोजन दान गरेको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति नौंचु पैंगी लामा महायन बौद्व गुम्बा परिवारले धन्यवादसहित आभार व्यक्त गरेको छ ।
हत्या, हिंसा, व्यभिचार नियन्त्रण गर्ने उद्देश्यले ताङतिङ नौंचु पैंगी लामा पण्डितथर भाईखलकले वि.सं. २०६९ सालमा गुम्बा निर्माण गरेका थिए । गुम्बा परिवारका उपाध्यक्ष बृजमान गुरुङले बढ्दो शहरीकरण र विदेश पलायन बढी रहेको अवस्थामा पुख्र्यौली संस्कृतिलाई जोगाई राख्न गुम्बाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।