पाेखरा । नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ । बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले फूलबारी ब्यारेकमा सो सम्मेलनको उद्घाटन गरेका हुन् । सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने तीन हजार आठ सय ९४ भूपू सैनिकको सहभागिता छ ।
नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै निरन्तररुपमा विभिन्न क्षेत्रमा सेनाले भूपू सैनिक सम्मेलन गर्दै आएको छ । हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ ।
सम्मेलनमा भूपू सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमा÷बाबुलाई सम्मान, शताब्दी पुरुष÷महिला सम्मान र अन्तरक्रिया तथा छलफल हुनेछ ।