रानीमहलको झल्को दिने पाल्पा हाउस पोखरामा सञ्चालन

गन्थन संवाददाता, पोखरा । रानीमहलको झल्को दिने पाल्पा हाउसको भवन पोखरामा सञ्चालन भएको छ । गण्डकी प्रदेशको प्रमुख पर्यटकीय स्थल पोखरा र लुम्बिनी प्रदेशको अर्को पर्यटकीस्थल तानसेनलाई जोड्न पाल्पा हाउस प्रालिद्वारा पोखरा ९ न्यूरोडमा रानीमहलको झल्को दिने गरी पाल्पा हाउसको भवन निर्माण गरी संचालन गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

करिब २ करोडको लगानीमा बनेको पाल्पा हाउसकाे उद्घाटन यहि चैत्र १० गते शुक्रबार हुने जनाइएको छ । उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले संयुक्त रुपमा गर्ने प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए ।

पाल्पा र कास्कीमा उत्पादित मौलिक उत्पादन तथा सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने मूल उद्देश्य सहित पोखरामा पाल्पा हाउसको भवन निर्माण गरिएको घिमिरेको भनाई छ । ‘पाल्पाली चिनारीहरु ढाका, करुवा लगायत फलफूल तथा कृषिजन्य उत्पादनहरु पाल्पाकै सुपथ मूल्यमा यहीबाट उपलब्ध गराइनेछ । त्यस्तै कास्कीको पहिचान जेठोबुढो तथा विभिन्न कृषि उत्पादनको बजारीकरण गरिनेछ ।’ उनले भने ।

उनका अनुसार एकै छानामुनि विभिन्न सेवा दिने उद्देश्यले पाल्पा हाउसमा कुल १७ सटरमा विभिन्न प्रकृतिका पसलहरु संचालित छन् । पाल्पा हाउस प्रालिको ुरानीमहल रेष्टुरेन्टु बाट पाल्पाली परिकार चुकाउनी, बटुक, मिसमास, छोयला लगायत चलनचल्तीका खानाका विभिन्न स्वाद पस्किने घिमिरेले जानकारी दिए ।

समग्रमा पाल्पा हाउसले कास्की र पाल्पामात्र नभै गण्डकी र लुम्बिनी प्रदेशकै पर्यटन प्रवर्द्धनसहित आर्थिक गतिविधिमा टेवा पुऱ्याउने विश्वास अध्यक्ष घिमिरेको छ । साथै भविष्यमा पाल्पा हाउस मुलुकका विभिन्न सहरमा पनि बिस्तार गर्दै जाने लक्ष्य रहेको उनले बताए ।

कमेन्टहरु
Loading...