पोखरा । जनप्रतिनिधिले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा एक कर्मचारीले उजुरी दिएका छन् । माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरूङले शुक्रबार आफूमाथि हातपात गरेको भन्दै असिस्टेन्ट सब इन्जिनियर लक्ष्मण जिसीले उजुरी दिएका हुन् ।
काम गर्ने–गराउने विषयमा वडाध्यक्ष गुरुङ र कर्मचारी जिसीबीच विवाद भएको थियो । सोही विवादका क्रममा वडाध्यक्ष गुरूङले हातपात गरेको बताइएको छ । वडाध्यक्षसँग हात हालाहाल हुँदा कर्मचारी जिसीको नाकमा चोट लागेको पनि बताइएको छ ।
वडाध्यक्ष गुरूङले आफूले सामुदायिक होमस्टेको कार्यक्रमको पूर्वाधार बनाउने स्टिमेट तयार गर्न आग्रह गर्दा नमानेको र त्यही विषयमा धकेलाधकेल भएको प्रतिक्रिया दिए । ‘पहिला हुन्छ म स्टिमेट तयार गरिदिन्छु भन्नुभो तर पछि काम गर्नुभएन । उहाँले काम नगर्दा जनतालाई झुट बोलेजस्तो भयो । कार्यालय आएपछि कुरा गर्दा एग्रेसिभ भएर हेल्मेटले मलाई नै हान्लान्जस्तो गरे । ममाथि नै आक्रमण हुनेजस्तो भएपछि डिफेन्स गरेको हुँ,’ वडाध्यक्ष गुरुङले भने ।’
बाहिरी कुनै पनि कुरामा विवाद नभएको र वडाकै कामकाजका विषयमा सामान्य विवाद भएको गुरुङले बताए ।
यता इन्जिनियर जिसीले आफुलाई चोटपटक लाग्ने गरि कुटपिट गरेकाले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका छन् ।