गन्थन संवाददाता, पोखरा । पोखरा महानगरपालिकाले पोखराको मुख्य व्यापारिक क्षेत्रका सडकमा सवारी पार्किङ निषेध गरेको निर्णयप्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पोखरा महानगरपालिकाले आउदो माघ २३ गतेदेखि पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल र नयाँबजारका सडकमा सवारी पार्किङ निषेधको निर्णय गरेको थियो ।
महानगरले यस्तो दीर्घकालिन महत्वको निर्णय लिँदा सरोकारवाला तथा सहयात्री संस्था पोखरा उद्योग वाणिज्य संघसँग कुनै परामर्श नगरिनुले दुखि तुल्याएको आज जारी विज्ञप्तीमा लेखिएको छ ।
‘आम नागरिकबाट उठाइएको हाल पोखरा महानगरले व्यवस्थापन गरेका पार्किङ स्थलले अहिलेको सवारी चाप धान्न सक्छ ? के हतारमा निषेधित क्षेत्र घोषणाअघि विकल्पबारे सोच्न सकिँदैनथ्यो ? के अहिले गरिएको निर्णयमा अभ्यस्त हुन व्यवसायी र सर्वसाधारणलाई पर्याप्त समय प्रदान गरिएको छ ? भन्ने लगाएतका प्रश्नहरुले हामीलाई पनि झस्काएको छ ।’ संघका अध्यक्ष पवन प्रजापतिद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ ।
‘महागरको सवारी निषेधको निर्णयसँगै सो क्षेत्रका व्यवसायीहरुमा विस्थापन र लगानी डुब्ने चिन्ता थपिएको छ । महानगरले यो चिन्ताको संवोधन गरोस् भन्ने हाम्रो पहिलो माग रहेको छ । यसका अलावा सवारी पार्किङको लागि पर्याप्त र सुरक्षित स्थलको व्यवस्थापन, सहुलियतपूर्ण शुल्क निर्धारण, निषेधको निर्णयसँगै सहका अन्य क्षेत्रमा पर्नसक्ने सम्भावित पार्किङ भार र निम्त्याउन सक्ने समस्याको संवोधन, सार्वजनिक यातायातको सुधार र सुनिश्चितता एवं निजी क्षेत्रसँग समझदारीपूर्ण साझेदारीमा पनि हाम्रो चासोको विषय हो ।’ विज्ञप्तीमा भनिएको छ – ‘कोभिड १९ को महामारी, बैंक तथा वित्तिय संस्थाको चर्को व्याजदारबाट थला परेका व्यवसायीहरुलाई यो निर्णयले आहत पुर्याउछ भन्नेतर्फ ध्यान नदिएको पनि हामीलाई महशुस भएको छ । अतः पोखरा उद्योग वाणिज्य संघ ट्राफिक व्यवस्थापनको नाममा ज्यादति नहोस् भन्नेमा विशेष ध्यान दिन, सबैको सहमति खोज्नको लागि यो निर्णयमा पुनर्विचार गर्न एवं सरोकारवाला निकायहरुसँग संवाद र सहमति कायम गरि नयाँ व्यवस्थाको खोजी गर्न पोखरा महानगरपालिकासँग हार्दिक अपिल गर्दछ ।’