पोखरा । भ्रष्टाचार रोक्न सुशासनको आवश्यकता रहेको आज एक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा र सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीद्वारा संयुक्तरुपमा आयोजित ‘भ्रष्टाचार विरुद्धको अन्तरक्रिया’ कार्यक्रममा भ्रष्टाचार रोक्न सुशासन आवश्यक रहेको बताएका हुन् ।
राम्रो शिक्षा प्राप्त गरेमा देशमा सुशासन कायम गर्न सकिने पनि अन्तरक्रियामा बताइएको छ । भ्रष्टाचार हटाउँदै राष्ट्रमा सुशासन कायम गर्न सबैले सबै क्षेत्रको पहलबाट मात्र सम्भव हुने अन्तरक्रियामा जनाइएको छ ।
अन्तरक्रियामा सुशासन प्रवद्र्धनका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका उपसचिव राजु कुँवर र सुशासनका लागि नागरिक समाजका कार्यकारी अधिकृत भानु पराजुलीले प्रस्तुती राखेका थिए । कार्यक्रमको आवश्यकता र औचित्यका विषयमा अख्तियार कार्यालय पोखराका सिडिइ नवराज शर्मा र सुशासनका लागि नागरिक समाज कास्कीका अध्यक्ष रविन्द्र वाँस्तोलाले प्रकाश पारेका थिए ।
अन्तरक्रियाकै बिच सुशासन पत्रकारिता पुरस्कार पत्रकार यदुनाथ बञ्जारालाई प्रदान गरिएको छ ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, नेपाल सरकारका शिक्षा सचिव रामकृष्ण सुवेदी, ट्रन्सपेरेन्सी इन्टरनेशनलक पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीलगाएतको उपस्थितिमा अन्तरक्रिया भएको थियो । कार्यक्रमको अध्यक्षता अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराकी कार्यालय प्रमुख पार्वती शर्माले गरेकी थिइन् ।