हामीलाई सम्मानजनक व्यवहार गरिदिनुस् : यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदाय

राजु गिरी, पोखरा । यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई समाजमा सम्मानजनक व्यवहार हुनुपर्ने आवश्यक रहेको पोखरामा आयोजित एक कार्यक्रममा चर्चा गरिएको छ । निल हिरा समाजद्वारा आज (शुक्रबार) यौनिक तथा लैङ्गीक अल्पसंख्यकबारे मिडिया अभिमुखिकरण कार्यक्रममा निल हिरा समाजकी कार्यक्रम संयोजक पिटर राईले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई समाजमा सम्मानजनक व्यवहारको आवश्यकता रहेको बताइन् ।

अझै पनि समाजमा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई होच्याउने, अपशब्द बोल्ने, गालीगलौज गर्नेलगायत शारिरिक र मानसिकरुपमा हिंसा हुने गरेको उनको भनाई थियो । सबै क्षेत्रबाट सम्मानजनक व्यवहार अझै हुन नसकेकाले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायले पिडा भोग्नुपरेको उनले बताईन् ।
नागरिकता लिँदा लिङ्गमा अन्य लेख्न पाइने व्यवस्था भएपनि निकै झन्झटिलो र ठूलो विभेद गरिएको पिटरले बताइन् । नागरिकता लिनलाई यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायले डाक्टरको प्रमाणपत्र पेश गर्नुपर्ने र निवस्त्र भएर अंगहरु देखाउनु पर्ने जस्ता ठूलो विभेद भएको उनको भनाई थियो ।

यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिले आफनो पहिचान नहुदै नामसहितको नागरिकतामा महिला वा पुरुषको महलमा राखेर बनाएपछि आफनो पहिचान शारिरिक बनावट परिवर्तन गरेपछि नाम परिवर्तन गर्न नमिल्ने खालको कानुनी जटिलता रहेको उनले बताइन् । तरपनि राज्यले पछिल्लो समय समुदायप्रति चासो व्यक्त गरेको उनले भनिन् ।

त्यस्तै यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायको मुद्दालाई विशेष प्राथमिकतामा राखेर सञ्चारकर्मीले कलम चलाउन पिटरले आग्रह गरिन् । साथै समाचार लेख्दा गोपनियताको ख्याल राख्दै अध्ययन गरेरै लेखिदिन उनले अनुरोध गरिन् ।

त्यसैगरि संचारकर्मी बविता बस्नेतले यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुलाई सम्मानजनक भाषाशैलीको प्रयोग आवश्यक रहेको बताईन् । साथै यस समुदायका समस्या, चुनौती र भोग्नुपरेको कानुनी र सामाजिक जटिलतालाई समेत संचारकर्मीहरुले महत्वका साथ उजागर गर्न जरुरी रहेको बताइन् । उनले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई स्वतन्त्र जीवनयापन गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको सवालमा राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

पोखरामा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरु आउँदा उनीहरुलाई बस्ने बासको व्यवस्था गर्न सम्मान गृह सञ्चालन गरिएको नौलो बिहानीकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले जानकारी दिइन् । कुनै काम विशेषले, उपचार गर्न वा आर्थिक समस्या भएका उक्त समुदायका व्यक्तिलाई सहज होस् भनी सम्मान गृह सञ्चालन गरिएको उनको भनाई थियो ।

हाल नेपालमा करिब ९ देखि १० लाख जना यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका रहेको तर सबै खुल्न नचाहेको नौलो बिहानी पोखराकी अध्यक्ष बिन्दीया गौतमले जानकारी दिइन् ।

 

कमेन्टहरु
Loading...