एमाले कास्कीद्वारा मतदाता तथा शुभेच्छुकहरुमा धन्यवाद व्यक्त

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा मतदान गर्ने मतदाता तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न सम्पुर्णलाई धन्यवाद दिएको छ । सोमवार एमाले कास्कीका कार्यवाहक अध्यक्ष तथा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीका अध्यक्ष तेजनारायण अधिकारीले एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले) का सूर्यध्वजावाहक उम्मेदवारहरुलाई अत्याधिक मत दिई विजयी गराउने कस्केली मतदाता, पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरुलाई हार्दिक आभार सहित धन्यवाद दिएका हुन् ।

विज्ञप्तीमा सत्ता गठबन्धनको हरेक खालको तिकडम राज्य सत्ताको दुरुपयोग समेतलाई परास्त गरी विजयी हुने नेकपा (एमाले)का सुर्यध्वजाबाहक उम्मेदवारहरूमा बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । निर्वाचनको प्राप्त परिणाम अनुसार जिल्लामा प्रतिनिधि सभामा क्षेत्र नम्वर १ बाट मन बहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर पौडेल ‘बैरागी’, साथै प्रदेश सभा क्षेत्र नम्वर १ (१) बाट खगराज अधिकारी, १(२) बाट बेदबहादुर गुरुङ ‘श्याम’, क्षेत्र नम्वर २(१) बाट भिम बहादुर कार्की र क्षेत्र नम्वर ३(१) बाट गणेशमान गुरुङ अत्यधिक मतले विजयी भएका भएका छन् ।

एमाले कास्कीका कार्यवाहक अध्यक्ष अधिकारीले कास्की जिल्लामा प्रतिनिधि सभाको ३ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा सूर्यध्वजावाहक उम्मेदवारहरुलाई विजयी गराउन सिङ्गो पार्टी पंक्ति प्रभावकारी रुपमा क्रियाशिल र परिचालित रहदा रहदै पनि प्रदेश सभा क्षेत्र नम्वर २(२) र ३(२) मा अपेक्षाकृत मत परिणाम प्राप्त गर्न नसकेको बताएका छन् । तर कस्केली मतदाताहरुको अपार माया, ममता र विश्वास नेकपा (एमाले) प्रति रहेकै कारण प्रतिनिधि सभाको तीनवटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा पार्टीले लोकप्रिय मत प्राप्त गरेको अधिकारीले विज्ञप्तीमा उल्लेख गरेका छन् । ‘कास्की जिल्लामा नेकपा (एमाले) पहिलो पार्टी बन्न पुगेको छ ।

विज्ञप्तीमा भनिएको छ–‘कस्केली जनताको माया, ममता र मतदाताहरुको पुर्ण विश्वास नेकपा (एमाले) प्रति रहेको पुन प्रमाणित भएको छ ।’ यसैविच शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग, मतदानमा खटिनु भएका सम्पुर्ण कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, सञ्चार माध्यम लगायत सम्पुर्णमा एमाले कास्कीले हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ । साथै प्रतिनिधि सभा र प्रदेश सभाको यस निर्वाचनमा जनताले दिएको मतादेशले राष्ट्रियता, स्वाधिनता, लोकतन्त्र र देशको समृद्धिका लागि सिंगो एमाले पक्तिलाई अझै प्रतिबद्ध भएर अगाडि बढ्ने प्रेरणा मिलेको विज्ञप्तीमा जनाईएको छ ।

कमेन्टहरु
Loading...