पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्न कार्यक्रमहरूको आयोजना गरी एघारौँ राष्ट्रिय कर दिवस -२०७९ सम्पन्न गरेको छ । “स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मूल नारा सहित बुधाबार एक कार्यक्रमका बिच राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले कर प्रशासनलाई व्यवसायीमैत्री बनाउनुपर्नेमा जोड दिए ।
यसैगरी कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत रमेश शर्माले कर प्रशासनलाई अझ मैत्रीपूर्ण बनाउँदै लगिने बताए । प्रमुख कर अधिकृत शर्माले कर प्रशासन र करदाताबिचको सम्बन्धमा थप सुदृढ बनाउँदै करको दायरा बढाउने बताए ।
कार्यक्रममा उत्कृष्ट करदाताहरूलाई सम्मान गरिएको छ । सम्मान हुनेहरूमा सेवा तर्फ यार्सा ल्याब्स प्रालि, व्यापार तर्फ अटोवेज प्रालि, कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि रहेका छन् । यसै गरी कार्यालयले नायब सुब्बा छाया भट्टराईलाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख कोष नियन्त्रक रामजी प्रसाद शर्मा, प्रमुख मालपोत अधिकृत राजेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।
सप्ताह कार्यक्रम अन्तरगत कार्यालयले प्रथम दिन मंसिर १ गते पहिलो सेवा लिन आउने करदातालाई सम्मान गरेको छ । यसैगरी कार्यालयले कर दिवसको अवसर पारेर कर शिक्षाका सामग्रीहरू ब्रोसर, पम्प्लेट करदाताहरूलाई वितरण गरेको छ । कार्यक्रमको अवसरमा उत्कृष्ट करदाता तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।