पोखरामा ३० किमीको दुरीमा जागिर खान ६ घण्टा बसको यात्रा

सीता गुरुङ पोखरा महानगरपालिका वडा नं ३२ बाट वडा नं २३ मा जागिर खान जानुहुन्छ । महानगरभित्र ३० किलोमिटर दुरीमा जागिर गर्दा उहाँलाई जाँदा तिन घण्टा र फर्किदा तिन घण्टा गरि दैनिक ६ घण्टा बसमा यात्रा गर्नुपर्छ । ३० किमि यात्रा गर्न तिन ठाँउमा गाडी परिवर्तन गर्नुपर्छ । लेखनाथबाट पृथ्वी चोकसम्म पुगेपछि ओर्लिनुपर्छ । फेरी लेकसाइड जाने अर्को गाडी कुर्नुपर्छ । धेरैवेर कुरेपछिमात्र लेकसाइड जाने गाडी आउछ । लेकसाइड झरेपछि फेरी पामे जाने गाडी कुर्नुपर्छ । कहिले काहिँ एक दुई मिनेट ढिला भैयो भने गाडी छुट्छ । छुट्यो भने एक घण्टा लगाएर अर्को गाडी कुर्नुपर्छ । यसरी जागिर भट्टाउनै मुस्किल हुन्छ । महानगर भएर पनि लेखनाथदेखि ठुलाखेत जाने यात्रुले निकै सास्ती खेप्नुपर्छ ।

विहान १० बजे स्कुलको जागिरमा पुग्नको लागि उहाँ विहान ७;०० बजेनै घरबाट निस्कनु हुन्छ । बेलुका चार बजे स्कुल छुट्टी भएपनि उहाँ मुस्किलले सात बजेमात्र लेखनाथ आफ्नो घरमा पुग्नुहुन्छ ।  लेखनाथबाट फेवाताल पश्चिमसम्म सिधा बस नचल्दा येस्तो दुख भएको हो । समयमा गाडी नपाउने र पटक पटक ठाउँ ठाउँमा बस परिवर्तन गर्नुपर्ने बाध्यता यात्रुहरुलाई छ ।  श्री सिद्धवराह माध्यमिक विद्यालयमा मावि तहमा कार्यरत शिक्षकको लागि उक्त यात्रा निकै कठिन हुन पुगेको छ । घरमा पुग्दा शरीर थकित हुन्छ । ‘घरमा पुगेपछि केहि काम गर्न भ्याइदैन’ गुरुङ् भन्नुहुन्छ ।

लेखनाथ क्षेत्रबाट फेवाताल सिरान सम्म सिधा बस सञ्चालन गर्न प्रयास नभएका हैनन् । यात्रुहरुका समस्याबारेमा बस व्यवसायी र स्थानीय जनप्रतिनिधिलाई नगरबासीले पटक पटक गुहार्दा पनि समस्या जस्ताको तस्तै रहेको छ । यात्रुका समस्या समाधान गर्न कसैले चासो दिएनन् सबैले आश्वासन मात्रै दिए । स्थानीयहरु गुनासो गर्छन् ।

-निर्मल पौडेल
शिक्षक, श्री सिद्धवराह मावि पोखरा २३, कास्की

कमेन्टहरु
Loading...