पोखराको रिठ्ठेपानीमा सञ्चालनमा आयो बीजी फुटबल एकेडेमी

राजु गिरी, पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ रिठ्ठेपानीमा बीजी फुटबल एकेडेमीको आज समुद्घाटन भएको छ । फुटबलका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले १५ रोपनी जग्गामा उक्त एकेडेमी सञ्चालनमा ल्याएका हुन् । पछिल्लो समय जापानको टोकियोमा अवस्थित फनरुट्स एकेडेमीमा लामो समयदेखि प्रशिक्षण दिँदै आएको गौचनले विदेशबाट सिकेका धेरै कुराहरु आफ्नै देशमा प्रयोग गरि एशियाकै उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य पुरा गर्न एकेडेमी सञ्चालन गरेको उनले जानकारी दिए । धेरै भन्दा धेरै खेलाडी उत्पादन गर्न सकिएमा राम्रो रिजल्ट निकाल्न सकिने उनको भनाई थियो ।

पोखरा २७ मा जग्गा भाडा लिएर सञ्चालन भएको बीजी फुटबल एकेडेमीमा हाल २ सय जनालाई प्रशिक्षण दिन सकिने सञ्चालक गौचनले बताए । उनका अनुसार भविष्यमा फनरुट्ससहित जापानका विभिन्न एकेडेमीसँग तथा जुगेण्ड फुटबल एकेडेमी कोलोनसँग द्धिपक्षीय सम्वन्ध विस्तारका लागि सम्झौता भइसकेको छ ।

एकेडेमीको आज उदघाटन गर्दै अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष बिरबहादुर खड्काले खेल क्षेत्रमा एकेडेमी सञ्चालन हुनु नै ठुलो कुरा भएको र बीजी एकेडेमीले पनि अनुशासित देशकै उत्कृष्ट खेलाडी उत्पादन गर्नेमा विश्वस्त रहेको बताए । जापानमा सिकेको राम्रो पक्षलाई एकेडेमीमा लागु गर्न अनुरोध गर्दै खेल र खेलाडीका लागि संघ सहयोग गर्न सधै तयार रहेको उनले बताए । साथै हाल बालबालिकामा मोबाइलको लत परिरहेको हुदा उक्त लत छुटाउन पनि बालबालिकालाई खेल क्षेत्रमा लाग्न अभिभावकले प्रेरित गर्नुपर्ने उनले बताए ।
उदघाटन कार्यक्रममा पोखरा वडा नं. २७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङ, पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष तथा पूर्व बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई, अखिल नेपाल फुटबल संघ गण्डकीका सदस्य डिलबहादुर गुरुङ, खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ, सहारा क्लब हङकङका पूर्व अध्यक्ष दिपक थापालगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

एकेडेमीमा ३ महिना अघिदेखि प्रशिक्षण दिन शुरु गरिएता पनि आज विधिवतरुपमा उदघाटन गरिएको हो । उदघाटन कार्यक्रमकै अवसरमा प्रशिक्षार्थी बिकेन भाग्य भुजेललाई छात्रवृत्ति प्रदान गरिएको छ ।

कमेन्टहरु
Loading...