पोखरा । फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ ।
४ स्वर्ण पदकसहित गण्डकी टिम च्याम्पियन बनेको हो । नेपाल आर्मी र सशस्त्र प्रहरीले समान ३÷३ स्वर्ण जितेको प्रतियोगिता सह–संयोजक दीपक गोदारले बताए ।
पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०—४०, ४५—५० तौल समूह र महिलातर्फको ३५—४०, ५०—५५ तौल समूहमा स्वर्ण जितेको हो ।
नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र पुरुषतर्फ ६०—६५ केजी तौल समूहमा स्वर्ण जितेको हो । सशस्त्र प्रहरी बलले महिलातर्फको ४५ केजी र ५० केजी मुनि तौल समूह र पुरुषतर्फको ४५ केजी मुनि तौल समूहमा स्वर्ण जितेको हो ।
आइतबार भएको महिलातर्फको ३५—४० केजी तौलम समूहमा गण्डकीकी पुष्पा केसीलेस्वर्ण पदक दिलाएकी हुन् । उनले सुदूरपश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै गण्डकीलाई टिम च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिइन् । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि शनिबार खेल स्थगित भएको थियो । गण्डकीले सातौं, आठौं र नवौ राष्ट्रिय खेलकुदमा टिम च्याम्पियन बनेर ह्याट्रिक गरेको छ ।
खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका रूपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण जितेका हुन् ।
पुरुषतर्फकै ६०—६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् । पुरुष तर्फकै ५५—६० केजी तौल समूहमा नेपाल प्रहरीका शुशान लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् ।
पुरुषतर्फकै ५०—५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्द रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए । यसैगरी ४५—५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले वागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् । ४०—४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले आर्मीका राजकुमार यादवलाई पराजित गरी स्वर्ण पदक जितेका छन् । पुरुषतर्फको ३५—४० तौल समूहमा गण्डकीका अभिसेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् ।
महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले बागतमी प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् । ५०—५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् । ४५—५० केजी तौल समूहमा सशस्त्र प्रहरीकी करिष्मा कार्कीले बागमती प्रदेशकी नविना घमाललाई पराजित गरी स्वर्ण जित्दा ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् ।
पोखरा प्रदर्शनी केन्द्रमा भएको प्रतिष्पर्धामा सात प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी छन् ।