राजु गिरी, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हुने साइक्लिङ खेलको तयारी पुरा भएको छ । शनिबार (भोली)देखि शुरु हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।
सात प्रदेश र तीन विभागिय गरि दश क्षेत्रबाट प्रतिस्प्रधा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा खेलाइने साइक्लिङ खेल उपसमिति सदस्य रन्जनराज भण्डारीले बताए । उनका अनुसार डाउन हिल र क्रस कन्ट्री पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा खेलाइनेछ भने रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट पोखराको याम्दी–हेम्जा सडकमा प्रतिस्पर्धा गराइनेछ ।
साइक्लिङको तयारी पुरा भइसकेको हुँदा शुक्रबार (आज) खेलाडीलाई ट्रयाक चिनाउने कार्य गरिएको नेपाल साइकल संघका प्रथम उपाध्यक्ष सुदिप पौडेलले जानकारी दिए । साइक्लिङ जोखिमयुक्त खेल भएकाले सुरक्षालाई विशेष ध्यान दिइने नेपाल साइकल संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले बताए ।
साइक्लिङ खेल अन्तरगत भोली (शनिबार) पोखराको तितेपानी रानीबनक्षेत्रको ट्रयाकमा डाउन हिल विधाको प्रतिस्पर्धा हुनेछ । त्यस्तै आइतबारपनि सोहि क्षेत्रमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुने र त्यसपछिका खेल याम्दी–हेम्जा सडकखण्डमा हुने आयोजकले जनाएको छ ।
४ विधाबाट साइक्लिङमा पुरुष महिला गरि ८ स्वर्ण, ८ रजत र ८ कास्यका लागि खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन् ।