पोखरा । पोखरा २४ कास्कीकोटमा रहेको कालिका माध्यमिक विद्यालयमा बिदाको दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीले प्रशासनिक कक्षको ताला फोडेर महिनौँदेखि गयल विवादित शिक्षक दिपेन्द्र बस्ताकोटीको हाजिर गराएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रेश्वरले शनिबार प्रशासनिक कक्षको ताला फोडी मावि तहका विज्ञान शिक्षक दीपेन्द्रको गयल हुँदाको हाजिर गराएका हुन् ।
शिक्षक दिपेन्द्रले शनिबार अपराह्न ४ बजे ढोकाको ताल्चा फोडी गत भदौ २९ देखि असोज ९ सम्मको गरी १० दिनको हाजिर गरेको पाइएको छ ।
शिक्षक दिपेन्द्र लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी लगाएर परीक्षा दिने सेटिङ गरेको घटनामा संलग्न भएको आरोपमा गत जेठमा पक्राउ परेका थिए । त्यो कुरा बाहिरिएपछि उनलाई विद्यालय व्यवस्थापन समितिले १९ जेठदेखि २९ भदौसम्म निलम्बन गरेको थियो ।
उक्त घटनाको छानविन गरिपाउँ भनि जिल्ला प्रहरी कार्यालय कास्कीलाई विद्यालयले पत्र काटिसकेको विद्यालयका प्रधानाध्यपक इश्वरी प्रसाद बस्ताकोटीले जानकारी दिए ।