राजु गिरी, पोखरा । यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायले पोखरामा आयोजना गरेको ‘यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका मुद्दाहरु’ विषयक विभिन्न सरोकारवालासँग गरेको अन्तरक्रियामा राज्यले उक्त समुदायलाई पछाडी पारेको बताइएकाे छ । तीन दिनसम्म सञ्चालन भएको अन्तरक्रियामा आज (बिहीबार) पत्रकारसँग गरिएको अन्तरक्रिया कार्यक्रममा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका विषयलाई राज्यले वास्ता नगरेको उनीहरुले बताएका हुन् ।
नागरिकता लिँदा लिङ्गमा अन्य लेख्न पाइने व्यवस्था भएपनि निकै झन्झटिलो र ठूलो विभेद गरिएको निल हिरा समाजका कार्यक्रम अधिकारी एलिन भण्डारीले बताए । ‘नागरिकता लिनलाई हामी जस्ता यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायले डाक्टरको प्रमाणपत्र पेश गर्नुपर्ने, निवस्त्र भएर अंगहरु देखाउनु पर्ने जस्ता ठूलो विभेद हामी माथी गरिएको छ । के नागरिकता लिनकै लागि हामी नाङ्गीनुपर्ने ?’ –उनले भने ।
सामान्य विरामी भएर हस्पिटल जानु पर्यो भने पनि १० पटकसम्म सोच्नु पर्ने अवस्था अझै रहिरहेको भण्डारीले बताए । तर समाज र परिवारमा घुलमिल हुन निकै गाह्रो भएपनि पछिल्लो समय यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन हुँदै आएको समेत भण्डारीले बताए ।
यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका मुद्दाहरु, आवश्यकताहरु सरोकार वाला निकायले सम्वोधन गर्नुपर्ने अपेक्षा रहेको नौलो बिहानीकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले बताइन् ।
यौनिक तथा अल्पसंख्यक समुदायका लागि पनि समावेशी ऐन, नीति तथा बजेटको व्यवस्था हुनु पर्ने माग उनीहरुको छ । सरकारी कोटामा उक्त समूहलाई नराखिएकोमा आपत्ति रहेको बिहीबार आयोजित अन्तरक्रियामा बताइएको छ । संघिय, प्रदेश तथा स्थानिय स्तरमा समान प्रतिनिधित्वको अवसर पाउनुपर्ने, राजनीतिक घोषणापत्रमा समावेश गरि समुदायलाई नीति निर्माण तहमा प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने, सरकारीस्तरबाटै साझेदारीका कार्यक्रम ल्याउनुपर्ने, नीति नियम भएको ठाउँमा पनि प्रभावकारी कार्यान्वयन गराउनुपर्ने, नागरिकता प्राप्तीका लागि सहजता हुनुपर्नेलगाएतको माग यौनिक तथा अल्पसंख्यक समुदायको रहेको बिहीबार आयोजित अन्तरक्रियामा बताइएको छ ।
त्यस्तै यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायको मुद्दालाई विशेष प्राथमिकतामा राखेर सञ्चारकर्मीले कलम चलाउन आग्रह गरिएको थियो । साथै समाचार लेख्दा गोपनियताको ख्याल राख्दै अध्ययन गरेरै लेखिदिन यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायले आग्रह समेत गरेका छन् ।
हाल नेपालमा करिब ९ देखि १० लाख जना यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका रहेको तर सबै खुल्न नचाहेको नौलो बिहानी पोखराकी अध्यक्ष बिन्दीया गौतमले जानकारी दिइन् । उनका अनुसार हाल १ सय ८३ जनाले मात्र अन्य लिङ्ग लेखिएको नागरिकता लिएका छन् ।