प्रिय छोरा असिम माया,
म त बुढि भइसकेँ उमेरले असि काटि गएको पनि पाँच बर्ष पुगेछ । आजकाल खाना पकाएर खान नसक्ने भएको छु । खाना पकाउन खानका लागि एक जना नानीलाई राखेको छु । अहिले मेरो सबथोक उनी नै हुन् । घरको काम सबैले गर्छिन्, खाएको नखाएको ख्याल गर्ने सबै उनले गर्न थालेदेखि मलाई अलिक आराम छ । यसो बिस्तारामा पल्टिएर बैंशको कुरा सम्झन्छु र मुस्कुराउछु । मैले मेरो बैँश पनि तेरो बाल्यकाल सम्झदा मात्र सम्झेको हुँ ।
तेरो बाल्यकाल र मेरो बैश सम्झदा रोमाञ्चीत हुुन्छु । तलाई खेलाउदा खेलाउँदै तैँले मुखमा पिसाब फेरिदिएको कुरा त झन दिनदिनै सम्झन्छु । मलाई त्यो बेला कत्तिपनि रिस उठेन । तेरो चकचक नै मेरो जिन्दगीका रमाईलाहरु थिए वा भनौँ न त्यो बेला मेरो लागि त नै सबथोक थिईस् । मैले त्यहि बेला हो मैले मुतको स्वाद नुनिलो हुन्छ भनेर थाह पाएकी पनि, तँसँगको धेरै कुराहरू सम्झेर म रोमाञ्चित हुन्छु । सोच्छु तलाई कल गरेर दुइचार कुरा गरौंजस्तो पनि लाग्छ तर तेरो फुर्सद छैन होला भनेर फोन गर्न सक्दिन ।
मनमनै सोच्छु हिजो तेरो लागि म जसरी बाँचीरहेको थिएँ आज तपनि मेरा नातिनातिनाका लागि उसैगरि बाँचिरहेको होलास् भन्ने लाग्छ । मैले फोन नगरेको तप्रति मेरो माया घटेको छैन् । तैँले पनि फोन नगरेको महिना दिन भइगएछ । सायद यतिबेला तेरो ओभरटाइम चलिरहेको होला । बैंकको किस्ता र बाँच्ने मजबुरीले हामीलाई साह्रै ब्यस्त बनाउँछ नै त्यो स्वाभाविक प्रक्रिया हो । मेरो श्वास रहँदा नै घर आउने फुर्सद भयो भने मज्जाले बसेर बात मार्न मन छ । त्यो समय मिलेन र म मरिगए भने तसँगका स्मृतिहरु डायरीमा टिपेर राखेको छु । जतन गरेर बिदाको दिन फुर्सद मिलाएर पढ्नु ।
तलाई लाग्दो हो मेरी आमाले मसँग धेरै कुरा लुकाएकी छिन् । तर सत्य त्यस्तो होईन मैले मेरो जीवनका दुखहरु बाहेक तसँग केहि लुकाएको छैन् । त्यो बेला त दुख बुझ्ने थिइनस् र बताइन् । मेरा जीवनका दुखहरुको बोझ तैले कहिल्यै भोग्न नपरोस् र मेरो कारण त कहिल्यै दुखि हुन नपरोस् भनेर हाम्रो जीवनका सुन्दर क्षणहरू तिनवटा डायरीमा भरेर राखिदिएको छु ।
अब त आँखाले पनि काम नगर्ने भएछ । लेख्दालेख्दै हात बाउडिने भएको छ । लाग्छ मलाई पनि मेरा सखीहरुले बोलाईरहेछन् । लाग्छ मृत्य नजिक भएकाहरुले आफ्नो मृत्युको दिन थाह पाउँछन रे, मलाई पनि किनकिन मेरो मृत्यु नजिक भएको आभाष भएको छ । मलाई केहि भयो भने घर कामगर्ने नानीलाई तेरो सम्पर्क दिएको छु । उनले खबर गर्छिन् होला ।
धेरै कुरा लेख्न मन थियो तर लेख्न सकेको छैन हात बाउडिएको छ आँखा थाकेको छ । म गलेको छु तसँग जीवनका अन्तिम समय सँगै बिताउन मन थियो तर भन्न सकिन । त युगयुग बाँच्नु मेरो पत्र र मृत्युले तँ कहिल्यै दुखि नबन्नु । मृत्यु बाहेक अरुसबै चिजहरु भ्रम हो । तेरो जीवन सधै लोभलाग्दो बनि राखोस् प्रिय छोरा, बुहारी र नातिनातिनालाई असिम माया छ ।
नागोच्यो यमतोतागडा नारा
कहिलेकसो सुरुवात अन्त्यबाट गर्दा मन गाँठो पर्दो रहेछ । मन अमिलो पार्दै अगाडीको पातो पल्टाउन थाले । तिनवटा डायरी कतिबेला पढेर सकियो पत्तो भएन । समय लामै व्यतित आँखा सुन्निएको रहेछ । डायरीमा उनले लेखेका शब्दहरु बैशले उन्मुक्त भएर नाँचीरहदा साकुराहरु बगैँचामा आरिसले जलिरहेका हुन्थे । बन जलाउन पो रहेछ आगो चाहिने त मन जलाउन त एक मुस्कान नै काफी हुन्छ ।
जीवनका उर्जाशिल समय आफ्ना सन्तानका लागि बाँचेका बा आमाले जीवनको अन्तिम श्वास लिदै गर्दा सन्तानको अनुहार हेर्दै मृत्युको संगीत सुन्ने चाहना राख्नु सन्तानप्रतिको प्रेम हो । सकिन्छ बृद्ध भएका बा आमालाई मायाले सुम्सुम्याउनुस जसरी तपाइलाई बाल्यकालमा आइज निदरी आइजको लोहरी सुनाउदै सुताइदिन्थे । बाआमाहरुको पनि उस्तै चाहना हुन्छ जीवनको अन्तिम क्षण बुझ्ने मृत्युको संगीत आफ्ना सन्तानको अगाडि सुनौ र आफ्नै सन्तानको काखमा बसेर सङ्गीतमा लिन हौँ भन्ने चाहना राख्नु गलत पनि होईन ।
जिन्दगीको अन्तिम क्षणमा सन्तानसँग भेट्न नपाएपनि छोरोले डायरी पढोस भन्ने आमाको चाहना थियो । तर छोरोलाई न डायरी पढ्ने फुर्सद थियो न आमाका यादहरूलाई आफूसँगै लिएर जाने सोच नै आयो । क्रियाकर्म गरेर उ टोकियोतिर हानियो । उसलाइ घर बस्नै मन लागेन । आमा नभएपछि घर खण्डहर जस्तो लाग्ने रहेछ । उसलाई पनि मलाई जस्तै भयो होला सायद, उनको मृत्युको करिब पाँचबर्षपछि छोरालाई लेखेको डायरी मेरो हातमा छ । अझ सबैभन्दा गज्जवको रहस्य त के छ भने मेरी आमाको मृत्यु र यी आमाको मृत्यु एकै दिन र समयमा भएको थियो ।
म यसो सोचि ल्याउँछु । मृत्युको अन्तिम दिन त्यत्रो लेख्ने शाहस कसरी जम्मा गरिन् ? छोरालाई लेखेको पत्रमा उनले कहिल्यै निराशाको कुरा गरिनन् । जिन्दगीका कुरूप पक्षहरूबारे ब्याख्या गरिनन् । मात्र यति भनिन् –‘जिन्दगीमा सबैको कमजोरी हुन्छन् । कमजोरीसहित हामी मान्छेलाई स्विकार गर्छौं । जिन्दगीका कुरुप पक्षलाई कोट्याउने हो भने हामी फोहोरको आहालमा पौडिरहनुपर्छ ।’
उनी भन्छिन् –‘जिन्दगीको अन्तिम पलमा मृत्युको घण्टी बज्दा पनि मलाई दुख लागेन लाग्यो म अझै सुन्दर ठाउँमा पुग्दैछौं । म त्यहि घण्टिको संगीतको तालमा ताल मिलाएर नाच्दैछु । ’
यो कथाको अन्त्य होईन सुुरुवात हो अव यो डायरी छोराकोमा लिएर जाँदैछु अनि सुरु हुन्छ कथा ………
-साैगात पाेखरेल