राजु गिरी, पोखरा । यहि भदौ १२ गतेदेखि पोखराको लामाचौरमा ‘लामाचौर तीज महोत्सव–२०७९’ हुँदैछ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने तीज गीत प्रतियोगिताका साथै खेल तथा विभिन्न प्रतियोगिता भदौ १४ गतेसम्म रहनेछ ।
मौलिक संस्कृतिको जगेर्ना गर्दै कला र प्रतिभाको सम्मान गर्ने महोत्सवको मुल उद्देश्य रहेको नव आदर्श सामुदायिक विकास समाजकी अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् । उनले भनिन् –‘मौलिक संस्कृतिको जगेर्ना गरौं, कला र प्रतिभाको सम्मानमा जुटौं भन्ने उद्देश्यका साथ २४ औं संस्करणको लामाचौर तीज महोत्सव तथा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी भइरहेको छ। मुख्यतया हाम्रो मौलिक संस्कृतीलाई जगेर्ना गर्नको लागि नै हामीले वार्षिक रुपमा यो कार्यक्रम गर्दै आइरहेको छौ ।’
तीज गीत अहिलेको परिप्रेक्ष्यमा उत्ताउलो हुँदै गएको हुँदा त्यस्तो विकृतिलाई हटाउन अन्तर महिला समूह तीज गीत प्रतियोगितामा भाग लिने टिमलाई मौलिक परम्परालाई समेट्ने गरी आफ्नो प्रस्तुती राख्नुपर्ने बताइएको आयोजक संस्थाकी अध्यक्ष अधिकारीले बताइन् ।
कोरोनको कारण विगत २ वर्ष देखि रोकिएको यस महोत्सवमा ११ गते बाट राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिाता, १३ गते विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता र १४ गते समापन कार्यक्रमको तयारी तिब्र गतिमा भइरहेको उनले बताइन् । महोत्सवमा प्रदेश स्तरीय सितिरियो कराँते, ख्यातीप्राप्त कलाकारहरुबाट मनोरञ्जनात्मक प्रस्तुती, झाँकी प्रदर्शन, बाल उद्यान समेत रहने उनको भनाई थियो ।
उनका अनुसार महोत्सवमा सम्झना लामिछाने मगर, शीला आले, भागिरथ चलाउने रामजी पौडेल, दीपक खड्का, नविना सुवेदी, लक्ष्मी परियारलगायतका कलाकारको प्रस्तुती रहनेछ ।
महोत्सवको आम्दानीबाट संस्थाले विभिन्न सामाजिक कार्य, एम्बुलेन्स तथा सब वाहन सेवा, वृद्धहरुलाई दिवा सेवा आश्रम चलाइरहेको कुरा पनि अध्यक्ष अधिकारीले बताइन् । साथै विगतमा जस्तै यस पटकको महोत्सवमा पनि साथ र सहयोग गरिदिन आग्रह उनले गरिन् ।