गन्थन संवाददाता, पोखरा । अहिलेको गठबन्धन सरकार जनताप्रति गैरजिम्मेवार रहेको भन्दै चार कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी विप्लव, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै चरणबद्ध संघर्षका कार्यक्रमसहित भाद्र ७ गते नेपाल बन्दको घोषणा गरेका हुन् ।
एमसिसि, एसपिपि विरुद्धको आन्दोलनमा पक्राउ पुर्जी खारेजी, झुठा मुद्दाको खारेजी, आकासिदो महंगी नियन्त्रण लगाएतको माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरिएको विज्ञप्तीमा जनाइको छ । साथै जनताका मुद्दाहरुको वेवास्ता गरिएमा थप शसक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने चेतावनी पनि उक्त चार पार्टीले दिएको छ ।
घोषणा भएको संघर्षका कार्यक्रम अन्तरगत भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोध सभा, भाद्र ६ गते देशव्यापी मशाल जुलुस र भाद्र ७ गते नेपाल बन्दको घोषणा रहेको नेकपा विप्लव पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रिय कार्यलय सदस्य तथा उपत्यका बिशेष क्षेत्रका इन्जार्ज अटल शर्माले जानकारी दिए ।