पोखरा । नेकपा एमालेको तर्फबाट रुपा गाउँपालिकाका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्र बनाएका छन् ।
रुपाका सातवटै वडामा टोल तथा वडा कमिटी परिचालन गरेर उम्मेदवारहरुको घरदैलो अभियान जारी राखिएको गाउँपालिका कमिटीका कार्यबहाक अध्यक्ष निलकण्ठ रेग्मीले जानकारी दिए ।
आइतबार अध्यक्ष उम्मेदवार नवराज ओझा , उपाध्यक्ष लालसुब्बा गुरुङ , वडा नं ३ अध्यक्ष दिपेन्द्र गौतम सहितको टोलीले वडा नं ३ का पिपलटार , ठाँटीथर , छाप पाखा, जैउचौर र मोहोरियाटारमा घरदलौं गरेका छन् ।
अघिल्लो पाँच वर्ष भौतिक बिकासमा फड्को मारेको रुपमा गाउँपालिकालाई अब आर्थिक, सामाजिक र मानविय बिकासमा अगाडाी बढाउने बाचा गर्दै उम्मेद्वारहरुले जनतासंग मत मागेका थिए ।
‘समृद्ध रुपा बनाउने अभियानमा छौं, अघिल्लो कार्यकाल बाटो,विद्यालय,खानेपानी, स्वास्थ्यका क्षेत्रमा विकासका थुप्रै योजना सम्पन्न गरेका छौं अब जनतालाई आर्थिक रुपमा मजबुत बनाउने छौं र सबै हिसाबमा नेपाल कै नमुना गाउँपालिका बनाउनका लागी फेरि सूर्य चिन्हमा मतदान गरेर विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएका छौं’,घरदैलोपछि कोणसभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेद्वार ओझाले भने ।
यसैगरी वडा नं ३ मा वृहत युवा र्याली सम्पन्न भएको युवा संघ रुपा गाउँपालिका संयोजक उपेन्द्र गुरुङले जानकारी दिए । र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै वडा नं ६ अध्यक्षका उम्मेद्वार नारायण गुरुङले अघिल्लो कार्यकालमा थुप्रै कामहरु सम्पन्न भएको उल्लेख गर्दै बाँकी अधुरा कामहरु पुरा गर्न पुनः उम्मेद्वारको रुपमा मत माग्न जनताको घर दैलोमा आएको बताए ।

वडा नं ५ को काफल डाँडा, खडागाउँमा पनि घरदैलो अभियान सम्पन्न भएको छ । वडाअध्यक्षका उम्मेद्वार राजन खनालले वडा नं ५ भित्र बाटो,खानेपानी,सिंचाई,आवास,शिक्षा र स्वास्थ्यका क्षेत्रमा भएका कामहरुको मूल्याकंन गरेर आफुहरुलाई मत दिन आग्रह गरे । उनले अघिल्लो पटकको निर्वाचन भन्दा बढि मतान्तरले आफुहरु विजयी हुने दाबी गरे ।
‘वडासदस्य र कार्यवहाक वडाध्यक्षको रुपमा काम गर्दै जनताको घरघरमा पुगेर सेवा गर्ने अवसर पाएको छु, यहाँहरुको समस्यालाई नजिकबाट बुझ्ने अवसर मात्रै होइन थुप्रै समस्यालाई सामाधान पनि गरेका थियौैं अब बाँकी अधुरा काम र सपना पुरा गर्ने बाचाँ गर्दछु’, खडागाउँमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने ।
रुपा गाउँपालिकामा सूर्य चिन्हका उम्मेद्वारहरुलाई विजयी गराउन विद्यार्थी , युवाहरुले अभियानकै रुपमा घरदैलो र मतदाता शिक्षा अगाडी बढाइरहेको अनेरास्वबियु कास्की जिल्ला सचिवालय सदस्य विवेक ओझाले जानकारी दिए ।
‘मत माग्ने मात्रै होइन भएका मतलाई सुरक्षित गर्दै बदर हुन नदिन विद्यार्थी र युवाहरु परिचान गरेर मतदाता शिक्षालाई पनि अगाडी बढाइरहेका छौं’,उनले भने ।
