फरारलाई मस्ती, पीडितलाई सास्ती

सप्तरी l दश महिनाअघि सप्तरीका सर्वसाधारणको करोडौं रकम लिएर फरार भएका राजविराजका सिन्धी दाजुभाइ अझै पक्राउ पर्न सकेको छैनन्। राजविराजको गजेन्द्र चौकमा आईएमई व्यावसायी संचालन गर्दै आएका सञ्जय सिन्धी र सुनिल सिन्धी दाजुभाइले सर्वसाधारणको चार करोड २१ लाख ८४ हजार ७ रूपैयाँ ठगी गरी १७ फागुन २०७७ देखि  फरार छन् ।

उनीहरूले ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ३५ जनाले उजुरी दिएका छन् । उनीहरूले वैदेशिक रोजगारमा रहेका व्यक्तिले आईएमईबाट पठाएको रकममध्ये केही तुरुन्तै दिएको र केही पछि दिने भन्दै फर्काएर ठगी गरेको पीडितहरूको आरोप छ ।

सिन्धी दाजुभाइ जग्गासमेत बिक्री गरि फरार भएका सुनचाँदी व्यापारी सत्रुधन सोनारले बताए । विभिन्न व्यक्तिसँग जग्गा बिक्रीको नाममा ६० लाखसम्म बैना लिएको खुलेको छ । तर, विभिन्न व्यक्तिबाट बैना लिए पनि उनीहरूले राजविराज नगरपालिकाका मातहतमा रहेको न्यायिक समितिबाट मिलापत्रको माध्यमले सिन्धी दाजुभाइको जग्गासहितका सम्पत्ति बिक्री गरेर फरार भएका हुन् ।

यस बिषयमा न्यायिक समितिको संयोजक एवं राजविराज नगरपालिकाका उपमेयर साधना झाले आफ्नोे उपस्थितिमा रकमको कुनै लेनदेन नभएको बताइन् । राजविराज नगरपालिका मेयर शम्भु यादवले उनीहरू भागेको चारदिन पछि मात्र जग्गा नगरपालिकाले जग्गा पास गरेको आफूलाई जानकारी भएको बताए ।

‘पीडकलाई पक्राउ गर्न प्रशासनलाई पटकपटक दबाब दिँदै आएको छु । दोषी चाँडोभन्दा चाँडो पक्राउ परेर पीडितले न्याय पाउनु पर्छ भन्ने मेरो मान्यता छ,’ मेयर यादवले भने । यता जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले मुद्दा अदालतमा दर्ता गरेर पक्राउ गर्ने अनुमति लिएर आए पनि फरार रहेकाले पक्राउ गर्न नसकेको बताए ।

सुधा देव
कमेन्टहरु
Loading...