राजु गिरी, पोखरा । सुर्यचन्द्र विकास समाजद्वारा आयोजित पोखरा महानगर स्तरिय अन्तर सहकारी पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता २०७८ भोली (बिहीबार) देखि सञ्चालन हुने भएको छ । पोखरा ५ मा अवस्थित समाजले ३ दिने प्रतियोगिता बिहीबारदेखि सञ्चालन गर्ने र सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पोखरा ५ मालेपाटन स्थित वडा कार्यालयसँगै रहेको रविन्द्र स्मृति वाटिकाको ब्याडमिन्टन कोर्टमा सञ्चालन हुने प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक महेश्वर बरालले जानकारी दिए । बरालका अनुसार प्रतियोगितामा प्रथम हुनेले २० हजार ५ रुपैया, द्धितिय हुनेले १५ हजार ५ रुपैयाँ, तृतिय हुनेले १२ हजार ५ रुपैयाँ र उत्कृष्ट खेलाडीले ३ हजार ५ रुपैयाँ प्राप्त गर्नेछन् ।
खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको समाजका सचिव हेमराज भण्डारीले बताए । अनुमानित खर्च ५ लाख ९५ हजार गरिएको जानकारी दिँदै भण्डारीले संघ संस्थाबाट सहयोग जुटाएर प्रतियोगिता सञ्चालन गर्ने बताए ।
त्यस्तै समाजका अध्यक्ष कृष्ण प्रसाद बरालले विगत देखि नै समाजले शिक्षा, वातावरण, स्वास्थ्य, खेलकुद तथा समाज रुपान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । समाजले भोली (बिहीबार) सञ्चालन गर्ने ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन पूर्व गृहमन्त्री खगराज अधिकारीले गर्ने कार्यक्रम रहेको समेत उनले जानकारी दिए ।