पोखरा । देशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ को तयारी पूरा भएको छ ।
शुक्रबार साँझ पोखराको अमरसिंह मैदानमा हुने कार्यक्रममा आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् ।
नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको आयोजक ग्रिष्मा ब्रोडकास्टिङले जनाएको छ । मंसिर २४ गतेदेखि देशका सातैवटा प्रदेशमा गर्ने गरी सुरु गरिएको यस कार्यक्रमको अन्त्य पोखरामा प्रस्तुति दिएसँगै सकिने ग्रिष्मा ब्रोडकास्टिङ प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए ।
सप्तरंगमा अभिनेता राजेश हमाल, गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, मिलन नेवार, अनिल सिंह, अस्मिता अधिकारी, सन्दीप क्षेत्रीको प्रस्तुति रहनेछ । मंसिर २४ देखि देश दौडाहामा निस्केको सप्तरंग टोली विभिन्न प्रदेशमा प्रस्तुति सकेसँगै पोखरा आउन लागेको हो । पोखराको प्रस्तुतिसँगै तेस्रो संस्करणको समापन गरिने आयोजकले जनाएको छ ।