सहकारी तथा माइक्रो फाइनान्सहरुपनि डिजिटल प्रविधिसँग जोडिनु आवश्यकः इसेवा पोखरा

गन्थन संवाददाता, पोखरा । इसेवा पोखरा शाखाद्वारा सहकारी र माइक्रोफाइनान्सहरुलाई डिजिटल प्रविधिसँग जोड्नु पर्ने विषयक अन्तरक्रिया गरेको छ । मंगलबार सहकारी तथा माइक्रोफाइनान्सका प्रतिनिधिहरु बिच डिजिटल प्रविधिसँग जोड्नु पर्ने आवश्यक रहेको भन्दै इसेवा पोखराले स्वीस इन्टरनेशनल होटल सरोवरमा अन्तरक्रिया गरेको हो ।

समय अनुसार बैंकहरु जस्तै सहकारी तथा माइक्रो फाइनान्सहरुपनि डिजिटल प्रविधिसँग जोडिनु पर्ने आवश्यकता रहेको हुँदा इसेवाले उक्त सेवा दिन सक्ने जानकारी अन्तरक्रियामा दिएको थियो । नगद, चेक लेनदेन भन्दा डिजिटल प्रविधिबाट कारोबार हुने भएकाले सहकारी तथा माइक्रो फाइनान्सलाई सहजता हुने इसेवाको भनाई थियो ।

इसेवाले सहकारी एप्स, फोन–पे, क्यु आर कोड जस्ता सेवा दिनका लागि सहकार्य गर्न तयार रहेको उक्त अन्तरक्रियामा जानकारी दिइएको थियो । बैंकहरु पूर्ण डिजिटल प्रविधिमा गइसकेपनि धेरै सहकारी तथा माइक्रो फाइनान्सहरु अझै जान नसकेको अन्तरक्रियामा औल्याइएको थियो ।

हालसम्म इसेवाको फोन–पे नेटवर्कमा ३ सय सहकारीले सहकार्यता गरिसकेको जानकारी इसेवाका मुख्य व्यवस्थापक आशिष गौतमले जानकारी दिए । सुरक्षित, विश्वसनिय, प्रभावकारि लागत, ठुलो भुक्तानी सञ्जाल तथा द्रुत वितरण जस्ता विशेषता इसेवामा रहेको गौतमको भनाई थियो । मुख्य व्यवस्थापक गौतमका अनुसार अहिलेको अवस्थामा विद्युतीय महसुल तथा टपअपमा ४० प्रतिशत, इन्टरनेट तथा टिभि च्यानल भुक्तानीमा ४५ प्रतिशत र एयरलायन्सको भुक्तानीमा ६० प्रतिशतसम्म इसेवाको प्रयोगबाट भएको छ ।

त्यस्तै इसेवा पोखरा शाखाका प्रमुख बिनोद बोहराले बैंक एप जत्ति नै सहकारी एपको प्रभावकारिता रहेको बताए । उक्त एपको प्रयोगबाट हरेक कारोबारका लागि सहकारीसम्म जानु नपर्ने र चेकबाट कारोबार गर्नु नपर्ने भएको हुँदा समयको समेत बचत हुने बोहराले बताए ।

कमेन्टहरु
Loading...