नवलपरासी । उद्योग सञ्चालनमा आएको झण्डै तीन वर्षपछि होङ्सी सिमेन्ट उद्योगले बिजुली पाएको छ । प्रसारण लाइन निर्माणमा लामो समय लाग्दा उद्योगले डिजल प्लान्ट चलाइरहेको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सवस्टेशनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सवस्टशन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिइएको हो ।
होङ्शीले ३० मेगावाट विद्युत् खपत गर्ने छ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् चाहिने छ । त्यसका लागि समेत उद्योगले माग गरिसकेको छ । उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधैँ विद्युत् दिइएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१-५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति लिएको छ ।
प्राधिकरणका सञ्चालक समिति सदस्य भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहकसेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिएको हो ।
होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योगलाई विद्युत् उपलब्ध गराइएको हो । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यपिङ’ गरी उद्योगलाई बिजुली दिइएको हो ।