नेकपा (माओवादी केन्द्र)ले पाँच दलीय समन्वय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने नाम टुङ्गो लगाएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधित्व गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
सत्ता गठबन्धनमा आबद्ध पाँच दलको सोमबार बसेको बैठकले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो । सो समितिमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट दुईदुई जनाले प्रतिनिधित्व गर्ने सहमति भएको थियो ।
यसैगरी बैठकले पार्टीको आसन्न राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनको तयारीस्वरुप पार्टीले साङ्गठनिक कामलाई तीव्रता दिएको छ ।
बैठकले एमसीसी परिमार्जनसहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय गरेको छ । एमसीसीका विषयमा बाहिर जुन विषय सार्वजनिक भएको छ, हाम्रो पार्टी एमसिसीका विषयमा राष्ट्रिय सहमति कायम नभइकन, सम्झौताका केही बुँदा संशोधन र परिमार्जन नभइकन अगाडि नबढाउने कुरा भएको छ, बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता महराले भने ।
आजको बैठक साङ्गठिन विषयमा केन्द्रित भएको प्रवक्ता महराले जानकारी दिए । प्रदेश पदाधिकारीको टुङ्गो लगाउने विषयमा पनि बैठकमा छलफल भएको छ । बैठकले सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समितिका सदस्यसँग परामर्श गरेर पदाधिकारी टुङ्ग्याउने निर्णय गरेको उहाँले जानकारी दिए ।