कांग्रेसले चियापान नगर्ने, एमाले अन्योलमा

नेपाली कांग्रेसले यस वर्ष दशैँको अवसरमा चियापान नगर्ने निर्णय गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत यस वर्ष कोभिड- १९ को कारणले चियापान कार्यक्रम नगर्ने जनाएका छन् ।

यता, नेकपा एमालेमा पनि चियापान गर्ने/नगर्नेमा अन्योल कायम रहेको छ । एमालेले चियापान गर्ने मिति अझै तोकेको छैन ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले चियापान गर्ने भनिए पनि अझै मिति नतोकिएको बताए । ‘यस वर्ष चियापान गर्ने हाम्रो तयारी रहेको छ’, उनले भने, ‘तर, कहिले गर्ने भन्नेमा मिति तोकिसकेको छैन । चियापान भने निश्चित गर्छौं ।’

गत वर्ष कोरोना भाइरसका कारणले कुनै पनि दलले चियापान गरेका थिएनन् ।

कांग्रेसले २०३३ सालमा स्वर्गीय बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको छ ।

यस्तै, मनमोहन अधिकारीको नेतृत्वमा एमाले सरकारमा सहभागी भएपछि नियमित चियापान गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...