स्वास्थ्य बीमा बोर्डले पैसा नदिँदा दमक अस्पतालमा औषधि अभाव

झापा l दमक- ७ की नरमाया भट्टराई वृद्ध आमा मीरादेवी भट्टराईलाई लिएर सोमबार दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पताल पुगिन् । उनको परिवारले स्वास्थ्य बीमा गरेको छ । दमक अस्पतालमा बिहानदेखि नै बीमाका लागि लाइन लाग्ने गर्छ । लाइन छिचोल्दै आमालाई डाक्टरकहाँ पुर्‍याइन् ।

मीरादेवी दमको बिरामी भएकाले नियमित औषधि सेवन गर्थिन् । उनले बीमाबाटै दमको औषधि लैजाने गरेकी थिइन् । तर, यस पटक भने अस्पतालको फार्मेसीमा बस्नेले बाहिरबाट औषधि लैजान भने । कारण- अस्पतालमा औषधि अभाव । ‘यस्तो भीडमा जोखिम मोलेर लाइन बसियो’, उनी भन्छिन्, ‘अन्तिममा औषधि छैन भनेर पठाए ।’

दमक अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार गराउनेको बिहानैदेखि भीड लाग्छ । बीमाबाट उपचार गराउन दैनिक ८०० देखि एक हजारसम्म बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा उपचार गराउन आएकामध्ये ८० प्रतिशत बिरामी बीमाका हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्ग लिम्बूले जानकारी दिए । यसका कारण पनि दमक अस्पतालमा भीड लाग्छ ।

यद्यपि, स्वास्थ्य बीमा बोर्डले समयमा पैसा नदिँदा अस्पताल नै ‘सट डाउन’ गर्नुपर्ने अवस्था आएको उनले बताए । अस्पतालमा अहिले अधिकांश औषधिको अभाव छ । सुगर, प्रेसर, दम, थाइराइड जस्ता नियमित सेवन हुने औषधिको अभाव भएको अस्पतालका मेसु डा. लिम्बूले बताए ।

बीमाले अघिल्लो आर्थिक वर्षकै ५० प्रतिशतभन्दा कम रकम मात्र दिएको उनले बताए । अझै स्वास्थ्य बीमा बोर्डबाट अघिल्लो आर्थिक वर्षको करिब साढे पाँच करोड रुपैयाँ पाउन बाँकी रहेको उनले बताए । यसका कारण औषधि खरिद गर्न मुस्किल भएको उनको भनाइ छ ।

‘अहिले जम्मा औषधिमा १०/२० प्रतिशत औषधि अभाव छ । भेन्टरलाई अघिल्लो वर्षको अढाई करोडभन्दा बढी रकम तिर्ने दायित्व छ अस्पताललाई’, उनले भने, ‘बीमाले पैसा दिएन भने दुई/चार महिनामा सट डाउन गर्नुपर्ने अवस्था छ । हामीले औषधि खरिद गर्न सक्ने अवस्था रहँदैन ।’

तैपनि बीमाले पैसा दिने आसमा औषधि खरिद प्रक्रिया अघि बढाइएको मेसु डा. लिम्बूले बताए । ‘बीमाले पैसा दिन्छ कि भनेर प्रक्रिया अघि बढाएका छौँ । आउला भनेर पनि काम कारबाही त अघि बढाउनुपर्‍यो नि !’, उनले भने, ‘बिनापैसा त निकै समस्या छ । बीमाले समयमा तिर्‍यो भने त आरामले चल्छ, नभए गाह्रो हुन्छ ।’

उनका अनुसार बीमाले समयमा भुक्तानी नगर्दा स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीलाई तलब/भत्ता खुवाउनसमेत मुस्किल भएको छ । ‘हामीले कम्तीमा पनि तीन/चार करोड रुपैयाँ त कम्तीमा वर्षमा लगानी गर्छौँ । त्यो पनि तिर्नुपर्छ’, उनले भने, ‘अवस्था निकै नाजुक छ । दैनिक आयको स्रोत त्यही हो । त्यही ब्लक भएपछि त कसरी चलोस् ? धन्न स्टकले अहिलेसम्म चलिरहेको छ ।’

यसबारेमा बीमा बोर्डका निर्देशकसँग पनि कुरा गरिएको उनले बताए । ‘हाम्रोमा मात्र होइन, अरूतिर पनि यही स्थिति छ’, उनले भने, ‘बीमाले ८० प्रतिशत मात्र समयमा दिए पनि ठीकै हुन्थ्यो । बीमा बोर्डका डाइरेक्टर यहाँ पनि आउनुभयो । छलफल पनि गरियो । बीमा बोर्डको पनि आफ्नै समस्या होला ।’

यसबारे बुझ्न बोर्डका निर्देशकसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

कमेन्टहरु
Loading...