पोखरा । गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई सहित १२ जनाको नेपाली काँग्रेस प्रवेशले कास्की जिल्ला उत्साहित भएको बताएका छन् ।
नेपाल पर्यटन व्यवसायी संघ (निट) ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री थापाले भट्टराईको पार्टी प्रवेशले कास्कीमा संगठन थप बलियो भएको उल्लेख गरे ।
उनले भट्टराईको आगमनले कार्यकर्ता र पार्टी पंक्तीमा थप हौसला मिलेको बताए । मन्त्री थापाले नेपाली कांग्रेसलाई कास्कीमा बलियो बनाउन गणेश भट्टराईको भूमिका महत्वपूर्ण रहने विश्वास गरे ।
उनँले व्यवसायीक क्षेत्रका व्यक्तिहरु पनि विस्तारै राजनीतिक क्षेत्रमा आबद्ध हुनुपर्नेमा जोड दिए । ‘व्यवसायिक व्यक्तिको मर्का व्यवसायिक व्यक्तिले बुझ्छ’, उनले भने ,‘त्यसैले राजनीतिमा अब व्यवसायिक व्यक्तिको प्रवेश हुनुपर्ने आवश्यकता छ ।’
कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आफु प्रतिबद्ध रहेको मन्त्री थापाले बताए। उनले खोपको उचित व्यवस्थापन गरी लामो समयदेखि बन्द रहेको पर्यटन क्षेत्रलाई माथि उकास्नुपर्ने आवश्यकत्ता औंल्याए ।
मन्त्री थापाले लेकसाइड राति ८ बजेसम्म मात्र नभई ११ बजेसम्म नै खुल्ने वातावरण मिलाउन आफुले सक्दो प्रयास गरिरहेको जानकारी गराए ।
उनले भने, ‘पर्यटन व्यवसाय चल्यो भने अरु व्यवसाय चल्छ । लेकसाइड राम्रो सँग चलेको खण्डमा महेन्द्रपुलका पसलहरुको व्यापार व्यवसाय राम्रो हुन्छ । त्यसैले अब हाम्रा ट्रेकिङ एरियाहरुलाई समेत विस्तारै खोल्नुपर्छ । यसमा म प्रतिबद्ध छु ।’
पोखराका पुराना पर्यटन व्यवसायी तथा भर्खरै मात्र नेपाली काँग्रेस प्रवेश गर्नुभएका गणेश बहादुर भट्टराईले विचारले आफु काँग्रेसमा प्रवेश गरेको बताए । उनले राजनीति भीडमा नभई विचारमा हुनुपर्ने आवश्यकतालाई औंल्याए । कुनै पनि देशको बेस राम्रो नभए देश नरहने भनाई भट्टराईको छ । आज आफुलाई देश कमजोर भएको महशुस भएर नेपाली काँग्रेसमा प्रवेश गरेको उनले बताए ।
‘मेरो प्रवेशले पदका लागि काँग्रेस प्रवेश गरेको हो भन्ने कुरा उठेको छ । म पदका पछाडि लाग्ने मान्छे होइन । विचारको राजनीति गर्न आएको हँु ।’, उनले भने
आफु पर्यटन क्षेत्रबाट राजनीतिमा आएकाले सिङ्गो पोखराको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
निटका अध्यक्ष सोम थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष जगत बहादुर पहारी, टेवान संस्थापन अध्यक्ष लक्की क्षेत्री, युवा पर्यटन व्यवसायी हेमराज अधिकारी, नेपाली काँग्रेस वडा ६ का इकाई सभापति बलराम गिरी लगायतले बोलेका थिए ।