पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सराङ्गकोटको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका अब्बल रहेको बताएका छन् ।
सराङ्गकोट धार्मिक एंव पर्यटन विकास समितिले बनाउँदै गरेको भ्यूटावर र शिवमन्दिरको अवलोकन गर्दै मन्त्री थापाले सो क्षेत्रमा पर्यटकको आकर्षण बढाउनका लागि निजी क्षेत्रबाट ठूलो लगानी भइरहेको उल्लेख गरे ।
उनले पर्यटन क्षेत्रको विकास क्रममा प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय गर्दै अगाडि बढिरहेको जानकारी गराए ।
‘लेकसाइड सेदी देखि सराङ्गकोट सम्म पुग्ने गरी अन्नपूर्ण केबलकारको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको छ’, उनले भने,‘यो अत्यन्तै स्वागतयोग्य र सह्रानिय छ । यसले पर्यटकको आकर्षणमा थप टेवा पुग्दछ । हामी निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्नेछौं । ’
निजी क्षेत्रको लगानीलाई सुरक्षित गर्ने गरी सहज नीति बनाउन स्थानीय सरकारलाई उनको आग्रह छ । सराङ्गकोट क्षेत्रमा ठूला होटल तथा रिर्सोटको सञ्चालन हुँदा पर्यटकका लागि एक दिन भएपनि भुल्ने वातावरण सिर्जना भएको मन्त्री थापाको भनाई छ ।
उनले पर्यटकको लागि अथाह सम्भावना बोकेको सराङ्गकोट क्षेत्रलाई व्यवस्थित बनाउन निर्माण हुँदै गरेको भ्यूटावर र शिवमन्दिरले अझ आकर्षण बढाउने बताए ।
मन्त्री थापाले भने, ‘भ्यूटावरलाई व्यवस्थित बनाउने कार्य अत्यन्तै सह्रानिय छ । यसले पर्यटकको आकर्षण थप बढाउँछ । अहिले भ्यूटावर पुग्न भ¥याङ्ग बनाइएको रहेछ । विस्तारै लिफ्ट समेत जडान गरी अपाङ्गमैत्री बनाउनुपर्छ । धार्मिक पर्यटकका लागि शिवमन्दिर निर्माण गर्ने कार्य पनि जारी छ । पोखराको धार्मिक पर्यटनको क्षेत्रमा समेत सराङ्गकोटको भूमिका महत्वपूर्ण रहने विश्वास गरेको छु ।’
उनले भ्यूटावरकै आडमा रहेको नेपाल टेलिभिजनको टावरले दृश्यावलोकनमा समस्या हुने भन्दै त्यसको स्थानान्तरण सँगै उचित व्यवस्थापनमा लाग्न समितिलाई अनुरोध गरेका छन् ।
पोखरा १८ जामुनेबोटमा स्थापना गरिएको सहिद पार्क पर्यटक भूलाउने अर्को एउटा स्थलका रुपमा साबित भएको मन्त्री थापाको भनाई छ । वडामा प्रहरीचौकीको कार्यलय निर्माण गर्नका लागि दुई रोपनी जग्गा समेत प्राप्त भइसकेको हुँदा निर्माण कार्यलाई तिव्रता दिई सुरक्षाका दृष्टिकोणबाट समेत सराङ्गकोटलाई सबल बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
मन्त्री थापाले आइटी पार्कको लागि पनि ९६ रोपनी जग्गा प्राप्त भएको र निर्माणका लागि प्रदेश सरकारबाट आव २०७८ र ०७९ मा १ करोड ७० लाख विनियोजन गरिएको जानकारी गराएका छन् । सराङ्गकोट पुग्ने मोटरबाटोलाई व्यवस्थित गर्न समेत आफ्नो पहलकदमी रहने मन्त्री थापाले बताए ।
पोखरा १८ लाई पर्यटकीय हबको रुपमा विकास गर्न विस्तारै सबै कुराको व्यवस्थापन गर्दै लैजानुपर्ने आवश्यकतालाई उनले औंल्याए ।
प्रदेश सरकारको उपस्थिति भइसकेपछि उक्त क्षेत्रको विकास र समृद्धिमा महत्वपूर्ण काम भएको र थप विकासका लागि मन्त्रालय र व्यक्तिगत क्षेत्रबाट सक्दो सहयोग हुने प्रतिबद्धता मन्त्री थापाको छ ।