कोभिशिल्डको दोस्रो मात्रा छिटै : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो मात्रा छिटै नै दिइने बताए । उनले खोप केही दिनमा नै प्राप्त हुने भन्दै खोपको प्रतिक्षा गरिरहेका सबै जेष्ठ नागरिकलाई दोस्रो खोप दिइने बताए ।

उनले कोभिशिल्डको दोस्रो मात्राको रुपमा जापान सरकारले उपलब्ध गराउने एस्ट्राजेनिका खोप लगाउने बताए ।

जापानले सरकारले नेपाललाई कोभ्याक्समार्फत १६ लाख खोप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको सिरम इन्सिच्युट कम्पनीले सरकारले खरिद गरेको कोभिशिल्ड खोप उपलब्ध नगराएपछि ज्येष्ठ नागरिकले खोप लगाउन नपाएका हुन् ।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थियो । मन्त्रालयले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए ।

कमेन्टहरु
Loading...