बाल संरक्षण तथा बाल श्रम कार्यक्रमको समिक्षा गोष्ठी

लेखनाथ, २२ माघ/लेखनाथ नगरपालिकामा बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा बाल संरक्षण र बाल श्रम सम्वन्धी कार्यक्रमको समिक्षा गोष्ठी सम्पन्न भएको छ । नगरपालिकामा सन् २०१३ मा संचालित बालमैत्री, बाल संरक्षण तथा बाल श्रम सम्वन्धी कार्यक्रमको क्षेत्रमा भएका खर्च, कार्यक्रम र उपलब्धीका बारेमा गोष्ठीमा छलफल भएको थियो । 

कार्यक्रममा वोल्दै युनिसेफ क्षेत्रिय कार्यालय भरतपुरका प्रमुख पुरुषोत्तम आचार्यले देशका ५८ नगरपालिका मध्ये सवै भन्दा थोरै बाल श्रमिक रहेको लेखनाथलाई बालश्रम मुक्त वनाउन सकिने वताए । उनले लेखनाथले बालश्रमिक न्यूनिकरणको क्षेत्रमा गरेको क्रियाकलाप उत्कृष्ट भएको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्न समेत सुझाव दिए । आचार्यले बालमैत्री नगरका रुपमा समेत लेखनाथलाई घोषणा गर्न प्रसस्त आधारहरु निर्माण भएको उल्लेख गर्दै त्यसमा सवैको सहभागिता जरुरी रहेको स्पष्ट पारे ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीले निजि क्षेत्रको संस्थाका हैसियतले नगरपालिकाको अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उनले रोजगारदाताहरुको छाता संगठन भएकाले पनि यसमा आफुहरुको ध्यान आकृष्ट भएको उल्लेख गर्दै, बालबालिकालाई श्रमबाट झिकेर पुर्नस्थापना गर्नु प्रमुख चुनौती रहेको बताए । यस्तै श्रम कार्यालयका पोखराका प्रमुख श्याम के.सी ले श्रमका औपचारिक भन्दा अनौपचारिक क्षेत्रहरुमा बालश्रमिक उल्लेख्य मात्रामा रहेको वताउँदै, त्यस्ता क्षेत्रबाट उजुरी आए आफुले कारवाही गर्ने स्पष्ट पारे ।

नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा नेपाली काग्रेस नगरसभापति राजेन्द्रमणि लामिछाने, एमालेका क्षेत्रिय अध्यक्ष टिकाराम पगेनी, नेकपा एकिकृतका प्रेमकाजी गुरुङ, युनिसेफका वोधनारायण श्रेष्ठ, शिव डगोल, डानी लोआर, बाल मञ्च लेखनाथका अध्यक्ष ममता अधिकारी, सिड फाउण्डेशनका अध्यक्ष नवराज अधिकारी, वडा नं. ९, १० र ११ का सचिव दिपक कोइराला, पारालिगलका अध्यक्ष कोपिला रानाभाट लगायतले बाल श्रमको बारेमा आफ्ना धारणा राखेका थिए ।

कमेन्टहरु
Loading...