पोखरा २१ : कोभिड महामारीका बेला अनुमतिबिना राहत बाँड्दा वडाको आपत्ति

पोखरा । कोभिड महामारीका बेला पोखरा २१मा विनाअनुमति गैरकानुनी ढङ्गबाट राहात बाँडिएकोप्रति वडा कार्यालयले आपत्ति जनाएको छ ।

वडाध्यक्ष खगराज आचार्यले सार्वजनिक सूचना जारी गर्दै सस्तो लोकप्रियताका लागि वडालाई जानकारी नदिई राहात बाँड्नेलाई कानुन बमोजिम कारवाही हुनसक्ने भन्दै सम्बन्धित निकायमा पत्राचार गर्ने बताएका छन् ।

केसी ग्रुप एण्ड कम्पनीले स्वीकृति नलिई पोखरा २१मा आज राहात बाँडेको खबर सार्वजनिक भएपछि वडाध्यक्षले सूचना जारी गर्दै आपत्तिसमेत जनाएका छन् । महामारीका बेला राहातमा र औषधि वितरणमा एकद्धार प्रणाली होस् भन्ने उद्धेश्यका साथ वडाले बैशाख १९ गते सर्वदलिय बैठक बसी कोभिड १९ सहयोग उपसमिति पोखरा २१ गठन गरेको थियो ।

अर्जुन गिरीको संयोजकत्वमा गठित समिति सदस्यमा नेकपा एमाले वडा कमिटिका अध्यक्ष कृष्णबहादुर थापा, नेपाली काँग्रेस अध्यक्ष केबल गिरी, राप्रपा नेपालका अध्यक्ष खिमबहादुर ठकुरी र वडा सदस्य सिता बिक सदस्य रहेका छन् ।

त्यस वडामा समितिले यसअघि अन्य संघसंस्था समन्वय गरेर काम गर्दै आएको थियो । तर, शनिबार राहात बाड्दा न त वडाध्यक्ष, न त समितिलाई नै जानकारी गराइयो । समितिका संयोजक गिरीले पनि आफुलाई जानकारी नभएको बताए ।

´राहत बाड्ने काम राम्रो हो तर यो महामारीको वेला सुरक्षित होस भन्दै एक द्वार प्रणालीवाट बाड्नु पर्छ,` गिरीले भने, ´हामीलाई जानकारी गराएको भएपनि दाताकै हातबाट राहत बाड्न लगाउथ्यौ नि ।`

कमेन्टहरु
Loading...