पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन÷तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान र बाजुरामा एक÷एक जना रहेका गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन् ।
वेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन् । बाजुरा र रुपन्देहीमा एक/एक जना वेपत्ता रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै यार्सागुम्बा टिप्न गएका मनाङ्का ७० जनाको पनि आजै उद्धार भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ । साथै वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान, दैलेखलगायतका जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी छ ।