दिपक के श्रेष्ठ
केन्द्र सरकारको निर्णय अनुसार देशभरका १४ शहरमा निषेधाज्ञा जारी गरेपछि कास्की प्रशासनले पोखरामा पनि आजदेखि लकडाउन सुरु गरेको छ ।
लकडाउन सुरु गरेसँगै आज बिहानैदेखि पोखरा छिर्ने नाकामा प्रहरीले कडा चेकजाँच गरेको छ । पोखरा प्रवेश गर्ने पूर्वी नाकाअन्तरगत विजयपुरदेखि अमरसिंहचोक हुँदै पृथ्वीचोकमा ट्राफिक र नेपाल प्रहरीले निजी र सार्वजनिक सवारीसाधनमा चेकजाँच गरिरहेको छ ।
चेकजाँचकाक्रममा प्रहरीले अमरसिंहचोक र पृथ्वीचोकमा चलिरहेको बिजोर सवारी साधनलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सवारी साधनमध्ये मोटरसाइकलको संख्या बढी छ । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर तत्स्थानमा राखेको छ । उक्त मोटरसाइकलहरु बेलुका सम्बन्धित व्यत्तिलाई चेतावनीसहित फिर्ता दिने प्रहरीले जनाएको छ ।
यतिबेला पोखराको नगरक्षेत्रमा तैनाथ प्रहरीले माइकिङ गर्दै कोरोना सचेतनासम्बन्धी सञ्चार प्रवाह गरिरहेका छन् भने मास्क नलगाउने सर्वसाधारणलाई एकपटक सम्झाएर छाडेको छ । नगर क्षेत्रमा अत्यन्त कम सार्वजनिक सवारी साधन चलेका छन् भने लामो दूरीका माइक्रोबसलगायतका सवारी साधन चलिरहेका छन् ।
दिउँसो लकडाउनलाई प्रभावकारी बनाउन थप प्रहरी परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीले चलाएका छन् । पोखरामा आज बिजोर सवारी साधन चल्ने दिन हो ।