दिपक के श्रेष्ठ
गण्डकी प्रदेशको विशेष अधिवेशनको दोस्रो दिन सांसदहरुको पिसिआर टेस्ट गर्न स्वाब संकलन सुरु भएपछि अधिवेशन बिचैमा स्थगन भएको छ ।
मंगलबार अधिवेशन सुरु भए लगत्तै नेकपा एमाले संसदीय दलकोतर्फबाट सांसद राजीव पहारीले सम्पूर्ण माननीयहरुको स्वाब संकलन र परीक्षण गरेर मात्रै अधिवेशन अघि बढाउनु पर्ने धारणा राखेका थिए । पहारीको मागपछि वर्तमानवस्थालाई मध्यनजर गर्दै स्वाब संकलन सुरु गरिएको छ । यतिबेला सांसदहरु प्रदेश सभा भवन बाहिर स्वाब दिइरहेका छन् ।
एमालेको मागलाई सभामुखले सदर गरेपछि स्वयं सत्ताक्षले संसद अवरोध गरेको आलोचना हुन थालेको छ । तर पहारी भने आलोचनालाई ‘बेतुक’ बताइरहेका छन् ।
‘सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो, अहिलेको परिस्थितिमा जनतालाई आदेश दिएर हामीले भीड गर्न मिल्दैन’ गन्थनलाइ प्रतिक्रिया दिँदै पहारीले भने ‘सबैको स्वाब परीक्षणपछि संसद सुचारु भइहाल्छ ।’ विशेष अधिवेशको मिति तोकिएलगत्तै सभामुखसमक्ष बाराम्बार पिसिआर टेस्ट गर्न भनिएपनि नजरअन्दाज गरिएपछि सबैको स्वास्थ्य सुरक्षाकोलागि आवाज उठाएको उनले बताए ।
‘सभामुखसँग ६ गतेदेखि नै पहिला पिसिआर गराइयोस् भनेर मौखिक निवेदन गरिरहेका थियौं, तर हिजोसम्म पनि सुनुवाई नभएपछि आज अडान लिएका हौं’ उनले भने ।
संसद अवरुद्ध गरेको प्रतिक्रियाविरुद्ध उनले खरो शैलीमा जवाफ दिँदै भने, ‘हामी लोकतन्त्र र विधिलाई मान्छौं, बुधबार दिउँसो १ बजेसम्म रिपोर्ट आउँछ अनि संसद सुचारु हुन्छ ।’ उनले अधिवेशनको सामना गर्न एमाले तयार रहेको भन्दै पिसिआरको बहानामा संसद रोकेको भन्ने आरोपको खण्डन गरे ।
उनले भनेका छन् ‘एमालेले नौटंकी र बहानाबाजी ग¥यो भनेर वाहियात तर्क गरे तर सत्य यही हो कि हामीले पहिला स्वास्थ्यमा ध्यान दिनैपर्छ ।’