रिना थापा
५० को दशकदेखि पोखरामा सुरु भएर पहिलो नर्सिङ होम कहलिएको पद्म नर्सिङ होम समयक्रमसँगै आन्तरीक विवाद र समस्याको जालोमा जेलिँदै आएको छ । समस्याको जालो चिर्न शेयरधनीबीच पटकपटक छलफल र वार्ता भएपनि हालसम्म समाधानको संकेत देखा परेको छैन ।
यसैबीच, सोमबार नर्सिङ होमका ७९ प्रतिशत शेयरधनीले पत्रकार सम्मेलनमार्फत २१ प्रतिशतले हालीमुहाली गरेको मात्र हैन अवैधानिकरुपमा नर्सिङ होम सञ्चालन भइरहेको भन्दै पत्रकारसामु उपस्थित भए । पत्रकार सम्मेलनमा डा नारायण गौतमले अवैध प्रक्रियाबाट समिति गठन गरेर अस्पताल सञ्चालन भएको आरोप लगाए । उनले अस्पतालका सञ्चालकले नियतवस कर नतिरेर अस्पतालको लिलामी गर्न चाहेकोसमेत दाबी गरे ।
आफ्नै घरमा अस्पताल सञ्चालन गर्ने इच्छा अनुरुप समितिले मापदण्ड विपरित नर्सिङ होम चलिरहेको गौतमको भनाई छ । उनले न्यूरोडको नर्सिङ होम मापदण्ड विपरित भएको उल्लेख गर्दै भने, ‘नदीपुरमा नर्सिङ होम सारौं भन्दा २१ प्रतिशत शेयर सदस्य मान्नुहुन्न’ । उनका अनुसार हाल नेपाल सरकारले तोेके बमोजिमको अस्पतालको मापदण्ड छैन । त्यसैले पनि अस्पताल नदीपुरस्थित पुरानो बुद्ध अस्पतालमा सञ्चालन गर्ने प्रस्ताव डा नारायण गौतम टीमको हो ।
पछिल्लो केही समयदेखि नर्सिङ होम सञ्चालक र शेयर सदस्यबीच अस्पतालकै विषयमा विवाद चुलिँदै गएको छ । दुबै पक्ष आरोप–प्रत्यारोपमा उभिएका छन् । विवादकैबीच कास्की जिल्ला अदालतमा ‘शेयर बाँडफाँड गरी पाउँ’ भनि परेको मुद्दा विचारधीन छ ।
सञ्चालक समितिले विगत ४ वर्षदेखिको आयव्यय र फार्मेसीको आम्दानी लुकाएको, कर छली गरेको गौतम समूहको आरोप छ । गौतम समूहका अनुसार नर्सिङ होमले तिर्नुपर्ने १ करोड ५० लाख रुपैयाँ बैंकमा बुझाएर लिलामीबाट बचाइएको हो । तरपनि, सिमित व्यक्तिले अन्य सदस्यलाई बाइपास गरी कुनैपनि हालतमा नर्सिङ होम लिलामी होस् भन्ने चाहेको गौतम समूह बताउँछन् ।
नेपाल सरकारले ०७१ सालमा तोकेको अस्पतालको भौतिक पूर्वाधार, उपकरण, भवन र जग्गा सम्बन्धी मापदण्ड आएपछि पोखराकै नदीपुरमा अस्पताल सार्ने तयारी सुरु गरेको अर्का शेयरधनी नरेन्द्र बाँस्तोलाले बताए । सञ्चालक समितिका एक सदस्यले आफ्नै घरमा नर्सिङ होम चलाउने उद्देश्यले नदीपुरमा अस्पताल बनाउने योजना तुहाउन अनावश्यक दुख दिएको बाँस्तोलाको आरोप छ ।
साधारणसभामा बहुमत आफ्नो समूहको रहेको र सभामार्फत निर्णय गराई अस्पताल नदिपुर सारिने थाहा पाएपछि २१ प्रतिशत शेयरधनीले किचलो सुरु गरेको उनले बताए । ‘नर्सिङ होम भवन र जग्गा सम्बन्धी मापदण्ड अनुसार चलेको छैन’ उनले भने, ‘नदीपुरमा सार्न नदिन विभिन्न समस्या र विवाद खडा गरिएको छ ।गणपुरक संख्या नपु¥याई शेयर र प्रतिशतको आधारमा निर्णय नगरी साधारणसभा गरेकोमा समेत गौतम समूहको आपत्ति रहेको छ ।
७९ प्रतिशत शेयर सदस्यका कानुनी सल्लाहकार बेदबहादुर विष्टका अनुसार सञ्चालक समितिले गरेको साधारण सभा असंवैधानिक छ । ‘अदालतमा विचारधीन रहेको मुद्दाउपर फैसला नआउन्जेल कुनैपनि कार्य अवैधानिक हुन्छ’ उनले भने ।
विष्टका अनुसार पद्य नर्सिङ होमका सम्पूर्ण कागजातमा वडा नं ३ उल्लेख गरिएको छ । जसकारण कानुनतः नर्सिङ होमको ठेगाना सोही स्थान भन्ने बुझिन्छ । यस विषयमा नर्सिङ होमका प्रबन्ध निर्देशक यज्ञमान शाक्यले ७९ प्रतिशत शेयर छ भन्दैमा नहुने बताउँछन् ।
शाक्यले भने ‘दाबी भए प्रमाण देखाउनुप¥यो ।’ शाक्यले ०७२ सालमा बुद्ध अस्पताल खरिद गर्दा संस्थाको नाममा भन्दा व्यक्तिका नाममा थोरै कर तिनुपर्छ भनेर सोही अनुसार व्यक्तिका नाममा दर्ता गरिएको बताए । ०७४ सालमा साधारणसभा गरेपछि विवाद सुरु भएको उनले जानकारी दिए ।
७९ प्रतिशत शेयर भनेर दाबी रहेकोमा प्रमाण देखाए संस्था लैजान दिने शाक्यको भनाई छ । ‘एनएमबी बैंकबाट ६ करोड रुपैयाँ लिएको समयमा आफनो नाममा शेयर राख्नुभएको रहेछ’ शाक्यले भने, ‘त्यसबेला पैसा लिँदा यो मेरो पैसा होइन भनेर कागज पनि लेखिएको छ’ । अदालतले प्रमाण हेरेर सम्पूर्ण शेयर बाँडफाँड गरिदिए दुबैबीचको विवाद सकिने शाक्य बताउँछन् ।
गौतम पक्षले विभिन्न आरोप लगाइरहँदा शाक्य भने नर्सिङ होमलाई बुद्ध अस्पतालमा सार्न सकारात्मक रहेको बताइरहेका छन् । अस्पतालको सम्पूर्ण निर्माण कार्य नसकिएकाले नर्सिङ होम नसारेको उनले प्रष्ट्याए । ‘आन्तरीक निर्माण अझै बाँकी छ, घरमात्र ठडाएर भएन नि ?’ शाक्यले भने, ‘सामान ल्याउनै छ, अपरेशन थिएटर छैन, त्यसकारण हामी नमानेको हौं ।’
नर्सिङ होमले हालसम्म तिर्नुपर्ने कर तिरेको उनले जानकारी दिएका छन् । कोरोनाकालमा कर तिर्न नसकेको स्वीकार्दै उनले सोही कारण अस्पताल लिलामीमा पुगेको बताए । यद्यपि, लिलामीमा लैजान शाक्य समूहको स्वार्थ रहेको गौतम समूह बताउँछ ।
लिलामी र करका विषयमा सोधिएको प्रश्नमा शाक्यले केही आक्रोशित हुँदै भने ‘कोरोनाको अवधिमा केही समस्या परेकै हो, उहाँहरु (गौतम समूह) ‘के–के खुरापाती सोच्नुहुन्छ, ७९ प्रतिशत शेयर भएको प्रमाण ल्याउनुहोस्, अस्पताल लैजानुहोस् ।’
शेयर सदस्यको बहुमत र अल्पमतबीचको विवादले नर्सिङ होमको भविष्य अन्योलमा पर्नसक्ने देखिएको छ । बहुमत पक्षले प्रमाण पेश गर्न नसके शाक्य समूह लिलामीको बाटोमा अघि बढ्ने निश्चित छ ।