दिपक के श्रेष्ठ
गत ६ गते नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि माग गरिएको विशेष अधिवेशन केही समय अघिदेखि सुरु भएको छ ।
प्रस्तावकसमेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले अविश्वासको प्रस्ताव दायर गरिनुको औंचित्यमाथि प्रकाश पारेका छन् । कांग्रेसले विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको सहयोगमा अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।
कांग्रेस संसदीय दलका नेता पोख्रेलले अविश्वासको प्रस्तावउपर बोल्ने क्रममा सरकारले कोरोना महामारीकाबेला सुरक्षाको प्रत्याभूत गराउन नसकेको, राजनीतिक पूर्वाग्रही भएर काम गरेको, अल्पमतमा रहेर पनि सत्तामा टाँसिइरहेकोजस्तो आरोप लगाए ।
‘केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी कदम चालेका छन्’ उनले भने ‘यता गण्डकी प्रदेशमा मुख्यमन्त्रीले त्यसैलाई पच्छ्याएर प्रतिगमनको मतियार बनेका छन् ।’ यही प्रतिगमनविरुद्ध विपक्षी दलहरु एकैठाउँमा जुटेको उनको प्रतिक्रिया छ ।
पोख्रेलले आफ्नो भनाई राखेपछि हाल अन्य संसदहरुले यसको पक्ष, विपक्षमा धारणा राख्ने क्रम जारी छ । प्रदेशमा एमालेसँग १ स्वतन्त्रसहित २८ संसद छन् । त्यस्तै, विपक्षी गठबन्धनमा कांग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादी पार्टी २ र जनमोर्चाको ३ गरी ३२ सांसद छन् ।
अधिवेशनमा आज र भोली अविश्वासको प्रस्तावउपर सांसदहरुले पक्ष, विपक्षमा धारणा राख्ने र बुधबार मतदान हुनेछ । विपक्षी दलका सांसदहरुले फ्लोरक्रस नगरे बुधबार मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित हुनेछ ।