बालबालिकालाई कोरोनाबाट जोगाउन चुनौती थपियो, डरलाग्दो परिस्थिति निम्त्याउन सक्छः सरकार

काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको र यसले डरलाग्दो परिस्थिति निम्त्याउने भन्दै यसमा चुनौती थपिएको बताएको छ । नागरिकको जीवन रक्षा नै हाल सरकारको मुख्य कर्तव्य भएर र त्यसतर्फ नै केन्द्रित भएर काम गरिरहेको समेत सरकारले स्पष्ट पारेको छ ।

आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोना भाइरस संक्रमणको डरलाग्दो अवस्थामा नेपाल पुगिसकेको बताएका छन् । हाल विश्वमा बनेका कोरोना भाइरसविरुद्धको खोप पनि १८ वर्षभन्दा माथि उमेर समुहका व्यक्तिको लागि मात्र बनेको र बालबालिकालाई जोगाउन चुनौती थपिएको बताएका छन् । दोस्रो लहरमा बालबालिका बढी संक्रमित भएकाले समेत अब केही सोच्नै पर्ने अवस्था आएको उनको भनाई छ । ‘बालबालिकालाई कोरोनाबाट जोगाउन चुतौती छ ।’ उनले भने ।

बालबालिकालाई कोरोनाबाट जोगाउने सरकारको मुख्य उद्देश्य रहेकाले नै सोही अवस्थालाई नियालेर काठमाडौं सहितका मुख्य सहरमा विद्यालय बन्द गरेर अनलाइक कक्षामा जाने विषयमा छलफल भएको उनले बताएका छन् ।

अनलाइन कक्षाका विषयमा केही निर्णय नभए पनि बालबालिकालाई जोगाएर जनजीवन कसरी सहज बनाउने भन्ने विषयमा ध्यान दिनुपर्नेमा उनको जोड थियो । स्वास्थ्य मन्त्री त्रिपाठीले कडा रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई निर्देशन दिएका छन् ।

कमेन्टहरु
Loading...